रेणु दाहालको दावी : ३५ सयदेखि ५ हजारको फरकले जितिन्छ

भरतपुर, जेठ ११ । भरतपुर  महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार रेणु दाहालले आफू जित्नेमा विश्वस्त भएको दावी गरेकी छिन् ।

भरतपुरका जनताले आफ्ना पक्षमा मत दिएको बताउँदै रेणुले शुरुका वडामा सोचेजस्तो मत नआएपनि १३ नम्बर वडापछि आफ्नो पक्षमा राम्रो मत आएको बताईन ।

चुनावी तालमेल हुँदा ठ्याक्कै दुई पार्टीको जोडेर मत आउँदैन । केही मत यताउता हुन्छन् तर नेपाली कांग्रेस समर्थक मतदाताले समेत उल्लेख्य मत दिएको उनले बताइन ।

“केही स्थानमा तलमाथि भयो होला, त्यो स्वभाविक हो, तालमेलबारे त्यति तयारी पनि गर्न सकिएको थिएन । तर कांग्रेस समर्थक जनताले पनि माया गर्नु भएको छ ।” उनले भनिन् । कांग्रेसका नेताहरुले अलिकति पनि हतोत्साहित नहुन भनेको बताउँदै रेणुले भनिन, “शुरुका वडामा मतगणनामा पछि परेपनि ३५ सय देखि ५ हजार मत फरकले हामी जित्छौँ ।

चुनाव अघि र पछि आफ्ना बारेमा अनावश्यक भ्रम र चर्चा सिर्जना गरेर मतदातालाई दिग्भ्रमित गर्न खोजेपनि भरतपुरका जनताले आफूलाई मत दिएको उनले बताइन । विपक्षीहरुको निशाना नै ममाथि थियो । हाम्रा एजेण्डा, प्रचार, उम्मेदवारहरुको व्यक्तित्वसँग हार मानेपछि विपक्षीहरुले व्यक्तिगत कुराहरु अघि सारेर बद्नाम गर्ने काम समेत गरेको उनले बताइन । कतिपयले पावर प्रयोग गरेको समेत हल्ला गरे, पावर प्रयोग गरेको भए त अहिलेसम्म जितिन्थ्यो होला, चुनावकै त्यो ढंगले गइन्थ्यो होला नि।” रेणुले भनिन् ।

आफूले जनताका बीच गएर उनीहरुबाट प्रतिनिधि हुन खोजेको रेणुको भनाई थियो । सिफारिस या टिका लगाएर राजनीतिक लाभ लिन कहिल्ये नखोजेको बताउँदै रेणुले भरतपुरमा विजय भएपछि दीर्घ र अल्पकालिन योजना बनाएर देशकै नमुना नगर बनाउने बताईन ।

Single News Button

Nepali Calendar