सुरक्षित सहकारीमा शितलकाजीको सर्वसम्मत नेतृत्व चयन

शिशिर सिंखडा
चितवन,२० असोज । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं.६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि.को पाँच अधिवेशनबाट सर्बसम्मत रुपमा अध्यक्षमा शितलकाजी श्रेष्ठ चयन भएका छन ।
संस्थाको १० औं बार्षिक साधारण सभा गत भदौं ३१ गते सम्पन्न भएको थियो । सर्वसम्मत नेतृत्व चयनको क्रममा आज शुक्रवार नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
सहकारीको नयाँ कार्यसमितिको उपाध्यक्षमा ओमप्रसाद लामिछाने,सचिवमा भिमप्रसाद लामिछाने, कोषाध्यक्षमा भिमप्रसाद खनाल चयन भएका छन । यसैगरी सदस्यहरुमा सोविता खनाल, शोभा वाग्ले, राममणि पंगेनी,हेमलाल खतिवडा, खेमलाल अधिकारी, किशोर अधिकारी, टंकबहादुर थापा चयन भएका छन । त्यस्तै लेखा समिति संयोजकमा द्रोणचार्य रेग्मी र सदस्यमा होमप्रसाद भट्ट तथा विद्याधर बास्तोला चयन भएका छन ।
नवनिर्वाचितहरुलाई कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले माला, अविर लगाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । निर्वाचन समितिका संयोजक केशब लामाले नवनिर्वाचितहरुलाई सपथप्रहण गराएका थिए ।
संस्थाले कार्यसमिति चयनको लागि तीन सदस्यीय निर्वाचन समिति यस अघि नै चयन गरेको थियो । समितिको संयोजकमा केशब लामा र सदस्यहरुमा हरि कँडेल तथा कृष्ण भट्ट रहेका थिए ।
नगरको आर्थिक विकासको लागि सहकारीसंग सहकार्य : मेयर श्रेष्ठ
संस्थाको पाँचौं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा लेखा समितिलाई पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले नगरको आर्थिक विकासको लागि सहकारी संस्थाहरुसंग सहकार्य गरेर अगाडि बढने बताएका छन ।
यस नगरकै महत्वपूर्ण संस्थाको रुपमा रहेको सुरक्षित सहकारीले समाजिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनले बताए । सहकारी संस्थाले सेवाको अतिरिक्त शेयर सदस्यहरुलाई नाफा पनि वितरण गरेको बताउदै मेयर श्रेष्ठले समाजमा देखिने र समाजमा सकारात्मक परिर्वतन हुने गरी शैक्षिक,स्वास्थ्य लगायतका क्षेत्रमा पनि काम गर्न सहकारीलाई सुझाब दिए । नगरपालिकाले सहकारीको क्षेत्रमा गर्न सक्ने सहयोग निरन्तर रहने भन्दै मेयर श्रेष्ठले सहकारी र नगरपालिकाको सयुक्त पहलमा धेरै विकास निर्माणका काम समेत गर्न सकिने बताए ।
संस्थाको हितमा सधै लाग्ने प्रतिबद्धता  : नव निर्वाचित अध्यक्ष श्रेष्ठ
संस्थाको पाँचौं अधिवेशनबाट निर्वाचित अध्यक्ष शितलकाजी श्रेष्ठले आफु सधै संस्था र शेयर सदस्यको हितमा लाग्ने बताएका छन । पदभार ग्रहण गर्दै श्रेष्ठले संस्थाको संस्थागत विकास र शेयर सदस्यको आर्थिक स्तर उकास्न लागि पर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
चितवनकै उत्कृष्ट सहकारीको रुपमा परिचित सुरक्षित सहकारीले आफनै भवनमा आर्थिक कारोबार सञ्चालन गर्दै आएको छ ।
यस अघि साविक पदमपुर गाविस क्षेत्रमा सेवा केन्द्र सञ्चालन गरी शेयर सदस्यहरुलाई सुविधा प्रदान गर्दै आएको छ ।
यस आर्थिक बर्ष भित्र संस्थाले रत्ननगर क्षेत्रमा पनि सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । करिब १० बर्ष अगाडि स्थापना भएको संस्थाको गत आर्थिक बर्षमा खुद नाफा रु एक करोड भन्दा बढि रहेको छ ।
पदहस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नं.६ का वडा अध्यक्ष विनोद रेग्मी, जुटपानी रेडक्रसका सभापति एवम् वडा नं.१ का वडा अध्यक्ष लिलाबहादुर गुरुङ, संस्थाका निर्वतमान अध्यक्ष द्रोणप्रसाद लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Single News Button

Nepali Calendar