महामन्त्री कोइरालाको आदेशमा दुई घण्टामै मन्त्रालय तानिए कार्यकारी अधिकृत

दयाराम आचार्य
नवलपरासी, २५ असोज । नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपरासी क्षेत्र नं. १ का सांसद डा . सशांक कोइरालाको ठाडो निर्देशनमा देवचुली नगरपालिकाका कार्यकारी अधिकृत मन्त्रालय तानिएका छन् । दसैं अगाडि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा गरेर देवचुली नगरपालिकामा पठाएको कार्यकारी अधिकृत चिरिञ्जीवी गिरीलाई नगरपालिकामा हाजिर भएको दुई घण्टामै मन्त्रालय तानिएको हो ।
गिरीले कार्यकारी अधिकृतको कार्यभार सम्हालेको दुई घण्टापछि नै फ्याक्स मार्फत स्थानीय विकास मन्त्रालयमा हाजिर हुने व्यहोराको पत्र पठाइएको छ । निर्वाचनका बेला आफ्नो निर्वाचन क्षेत्रमा आफू अनुकलका कार्यकारी अधिकृत हुनुपर्ने भन्दै लविङ सुरु गरेका कोइरालाले देवचुली र गैंडाकोट नगरपालिकामा नयाँ आएका कार्यकारी अधिकृतलाई मन्त्रालय तान्न लगाएका हुन् । कोइरालाले नवलपरासीका ती दुई नगरपालिकामा पुरानै कार्यकारी अधिकृतलाई फिर्ता बोलाएका छन् ।
असोज २३ गते सोमबार नगरपालिकामा हाजिर भएका कार्यकारी अधिकृत गिरीलाई सोमबारै मन्त्रालय तानिएको हो । कोइरालाले संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारलाई दबाब दिदै पुरानै कार्यकारी अधिकृत मानबहादुर खड्कालाई देवचुली नगरपालिका पठाउन सफल भएका छन् । सरुवा भएपछि देवचुली पुगेका कार्यकारी अधिकृत गिरीलाई नवलपरासी क्षेत्र नम्ब १ का सांसद सशांक कोइरालाका पिएले भेट्न बोलाएको तर गिरी नगएपछि कोइरालाले गिरीलाई मन्त्रालय तान्न दबाब दिएको स्रोतले बताएको छ ।
जिल्ला समन्वय समिति नवलपरासीले नदीजन्य पदार्थको अबैध उत्खनन गरेको भन्दै काँग्रेस महासमिति सदस्य बिष्णुबहादुर कार्की संलग्न स्मृति निर्माण सेवालाई कारबाही थालेपछि नवलपरासीका तत्कालिन स्थानीय विकास अधिकारी जीवलाल भुसाल र त्यसपछि आएका स्थानीय विकास अधिकृत युवराज कट्टेललाई सरुवा गर्न काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिएपछि उनीहरुको पनि कार्यालयमा हाजिर भएको एक महिनामै सरुवा हुनु परेको थियो । काँग्रेस नेताहरुको स्थानीय कर्मचारीमा देखिएको नाङ्गो हस्तक्षेप अन्त्य हुन नसक्दा जिल्लाको विकासको गति समेत प्रभावित बन्ने गरेको छ ।

Single News Button

Nepali Calendar