चम्पानगरमा खुल्ला भलिवल प्रतियोगिता सुरु, पहिलो दिन तीन खेल

चितवन, असोज २६ । दोश्रो वातावरणमैत्री राईनो कप खुल्ला भलिवल प्रतियोगिता विहीवारदेखी भरतपुर महानगरपालिकाको चम्पानगरमा सुरु भएको छ । भरतपुर महानगरपालिका १३ स्थित हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको एक समारोहका बीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उद्घाटन गरिन् ।

सो अवसरमा वोल्दै मेयर दाहालले राष्ट्रिय खेलको मान्यता पाईसकेको भलिवल खेलको विकासका लागि आगामी नगरपरिषदबाट योजना पार्ने प्रतिवद्धता जनाईन् ।

क्लवका अध्यक्ष केशव देवकोटाको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल,मध्यवर्ती व्यवस्थापन समितिका शंकर महतो,भरतपुर १३ का वडाध्यक्ष प्रकास दवाडी लगायतले मन्तव्य राख्दै वातावरणसंगै वन्यजन्तुको संरक्षणका लागि युवाहरु क्रियाशिल हुनु पर्नेमा जोड दिए ।

प्रतियोगिता अन्र्तगत विहीवार तीन वटा खेल भएका छन् । आजका खेलमा आयोजक हिमाल युवा क्लव बी,किसान युवा क्लव वद्रहनी र एडभेन्चर नेपाल माडी विजयी भएका प्रतियोगिताका प्रचार प्रसार संयोजक विवेक पोखरेलले जानकारी दिए ।

पहिलो खेलमा आयोजक हिमाल क्लव बी ले कंचन समाज कंचनवस्तीलाई २५–१२,२५–१४ र २५–१२ को सोझो सेटमा पराजीत गर्यो । दोश्रो खेलमा किसान युवा क्लवले निरन्तर युवा क्लव भरतपुर २१ लाई २८–२६,२५–१९ र २६–१४ तथा एडभेन्चर नेपालले हिमाल युवा क्लव ए लाई २५–२१,२५–१५ र २५–९ को सोझो सेटमा पराजीत गरेको प्रचार प्रसार संयोजक पोखरेलले वताए ।

प्रगतिको लागि युवा शक्ति,खेल विकासको लागि युवा शक्ति भन्ने नाराका साथ सुरु भएको भलिवल प्रतियोगिता असोज २८ गते सम्म चल्ने छ । प्रतियोगितामा जिल्लाका १६ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार,ट्रफी र प्रमाण पत्र तथा उपविजेतालाई नगद ३० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष देवकोटाले वताए ।

त्यस्तै सेमीफाईनलमा पराजीत हुने टिमले नगद १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका प्रचार प्रसार समिति संयोजक विवेक पोख्रेलका अनुसार सर्वोत्कृष्ठ खेलाडीले नगद ५ हजार, तथा सर्वोत्कृष्ठ सटर , सर्वोत्कृष्ठ लिफ्टर र सर्वोत्कृष्ठ डिफेन्सले समान नगद ३ हजार प्राप्त गर्नेछन् ।

Single News Button

Nepali Calendar