विश्वकप फुटबल : उद्घाटन खेलमा आयोजक रसियाद्धारा साउदी अरेबिया ५ -0ले पराजित

चितवन, ३१ जेठ । रसियामा आज देखि सुरु भएको फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेबियालाई शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको छ । खेलको पहिलो हाफ सकिँदासम्म रसिया २–० गोलले अगाडि रहेको रसियाले दोश्रो हाफमा ३ गोल गरेका हुन् ।
रसियाको लागि खेलको १२ औँ मिनेटमा जर्सी नम्बर ८ का लुरे गजिन्स्काईले पहिलो गोल गरेका हुन्। रसियाका खेलाडी जर्सी नम्बर ६ का डेनिस चेरिसेभले खेलको ४४ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई २–० को अग्रता दिलाएका थिए ।

पूरै खेलमा रसिया हावी रह्यो। साउदी अरेबियालाई पराजित गर्दै रसियाले सन् २००२ यता पहिलो विश्वकप खेलमा विजय हासिल गरेको हो।

मध्यान्तरपछि स्टार स्ट्राइकर फेदोर स्मोलोभको सट्टा मैदानमा छिरेका जुबाले मैदानमा प्रवेश गरेको एक मिनेटमै ७१ औँ मिनेटमा गोल गरे। बाँकी दुई गोल इन्जुरी टाइममा भए। चेरीसेभले ९१ औँ मिनेटमा गोल गरी कूल गोल संख्या पहिलो खेलमै दुई पुर्‍याए भने ९४ औँ मिनेटमा गोलोभिनले फ्रिकिकबाट सीधै गोल गरी ५–० को अन्तरमा साउदी अरेबियालाई पराजित गरे।

पहिलो खेलमा शान्दार विजयसँगै रसियाले आफ्नो समूहमा तीन अङ्क त पाएको छ नै, गोल अन्तर शानदार बनाएको छ। यो समूहमा रहेका उरुग्वे र इजिप्टको खेल भोलि हुँदैछ।

विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र पराजित नहुने इतिहासलाई कायम राख्दै रसियाले बिहीबार भएको विश्वकप फुटबलको उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गरेको हो ।