नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्दैछौं : स्वास्थ्यमन्त्री उपेन्द्र यादब

वीरगञ्ज,५ असार । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्तब्य राख्दै स्वास्थ्य मन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणहरुको व्यवस्था नहुदाँ  सेवाप्रवाह प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
विरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवको भनाई थियो । मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने पनि जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भईरहेको जनाएका स्वास्थ्य मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भईसकेको पनि बताए । उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भईसकेको भन्दै अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए ।
स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सिमित उपकरणहरु र ल्याबका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले उच्चतम सेवा पु¥याईरहेको भन्दै प्रशंसा पनि गरेका थिए ।