“सामाजिक सञ्जाल दुरुपयोग हुँदा साइबर क्राइम बढ्यो”

आनन्द पोखरेल
चितवन, ०५ साउन । सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराध बढ्दै गएकोमा सरोकारवालहरुले चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल प्रयाग गर्ने व्यक्तिहरुले अन्जानमा विभिन्न लिंकहरु चलाउँदा जानकारी विना नै उनीहरुको व्यक्तिगत जानकारी बाहिरिने त्यस क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका हुन् ।
साइबर अपराध नियन्त्रणका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्वयम् सचेत हुनुपर्नेमा जानकारहरुले जोड दिएका छन् । शनिबार चितवनको भरतपुरमा आयोजित साइबर अपराध सचेतना कार्यक्रममा कतिपय व्यक्तिहरुले अञ्जानमा नै सामाजिक सञ्जालबाट साइबर अपराध गरिरहेको बताए । साइबर अपराध र साइबर सेक्युरिटीबारे कार्यपत्र प्रस्तुत गर्दै आइटी ईन्जिनियर सुलभ अधिकारीले सबै खालका साइबर अपराधलाई कानुनमा समेट्न नसक्दा यसको दर बढ्दै गएको बताए ।
सामाजिक सञ्जालबाट नेपालमा धेरै अपराध हुने गरेको उल्लेख गर्दै पछिल्लो समय पूर्व प्रेमी र पूर्व पतीका कारण महिलाहरुको नग्न तस्बीरहरु बाहिरिने क्रम बढेको अधिकारीले बताए । भरतपुरमा रहेको फोब्स कलेजले आयोजना गरेको कार्यक्रममा प्रिन्सिपल दिपक गौतमले विभिन्न खालका ह्याकरका कारण समेत साइबर अपराध बढ्दै गएकोले त्यस्ता अपराधबाट जोगिन प्रयोगकर्ता स्वयम् सचेत हुनुपर्ने बताए ।
प्रदेशसभा सदस्य घनश्याम दाहालले तस्करहरुले पैसाको बार्गेनिङ गर्ने ठाउँको रुपमा सामाजिक सञ्जाल प्रयोग भइरहेकोले यसलाई रोक्नको लागि साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु हुन आवश्यक रहेको बताए । चितवन जिल्लामा कार्यरत प्रहरीहरुलाई दिइएको सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले साइबार अपराधको मुद्दा बढ्दै गएको बताए । सामाजिक सञ्जालको दुरुपयोगका कारण यो मुद्दा बढ्दै गएको र नेपालमा सबैभन्दा बढी महिलाहरु पीडित रहेको ढकालको भनाइ छ ।