जोखिम क्षेत्रबाट चितवनका ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै

चितवन, ५ साउन । भूकम्पपछि जोखिम क्षेत्र पहिचान भएका ५२ घर भूकम्पपीडितको स्थानान्तरण गरिँदै छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा ती भूकम्प पीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको हो ।

जोखिम क्षेत्रमा रहेका कुल १०२ घरमध्ये अहिले ५२ घरको स्थानान्तरणको काम तीव्र पारिएको कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिनुभयो । “कतिपय घर पूरा भएका छन् भने कतिपयको काम धमाधम चलिरहेको छ” पोखरेलले भन्नुभयो ।

चितवनको राप्ती नगरपालिका–१२ वकराङका तीन घरलाई बिम्पुक भन्ने स्थानमा र वडा नं १३ को एसिखाईका १३ घरलाई कालिटारमा स्थानान्तरण गर्न घर निर्माण तीव्र बनाइएको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–४ तीनघरेका पाँच परिवारका लागि लेवाटारमा घर निर्माण अन्तिम चरणमा पुगेकाले घर सर्ने तरखरमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो ।

इच्छाकामना–२ हेप्चेकका १० घरलाई त्यहीको दुम्कीमा स्थानान्तरण गर्न लागिएको छ । यस्तै इच्छाकामना–३ धुषाका २० घरलाई यहाँको कुरिनटारमा र कालिका नगरपालिका–१ मैतेसको एक घरलाई सोही स्थानको सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको छ । अझै ५० घरको विषयमा भने छलफल चलिरहेको छ ।

इच्छाकामना–२ कुँयलघारीका ३६ घरमध्ये १८ घर आफैं सिमलघारीमा सरेका र १८ घरको विषयमा छलफल चलिरहेको जनाइएको छ ।

यस्तै इच्छाकामना गाउँपालिका–३ धुसाका ११ घर, हेप्चेकका तीन घर, राप्ती नगरपालिका–१२ को एक घरको विषयमा समेत छलफल चलिरहेको छ । यसमा कतिपय सर्न नमानेका र कतिपय अन्यत्र गएकाले समस्या परेको इन्जिनियर नेपालले बताउनुभयो । रासस