सुनमा सिन्डिकेट :यूवा व्यवसायी निलेन्द्रमान भन्छन् नातिको पालामा हात धुनेपर्ने अवस्था

चितवन, २५ भदौँ । सरकारले सुनमा सिन्डकेट लगाउँदा सुन व्यवसायमा समस्या आएको छ । सुनमा बैंकले सिन्डिकेट लगाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग राखेर चितवनका सुनचाँदी व्यवसायीले केही दिनअघि पसल बन्द गरेका थिए ।
बाजेदेखि नातिसम्म व्यवसाय गर्दै आएको पुरानो सुनचाँदी पसल न्यू लोकमान एण्ड सन्स सुनचाँदी र जुहारतको पसलका सञ्चालक निलेन्द्रमान शाक्यले बताए । उनले भने, ‘बाजेदेखि सुन किनेर ग्राहकले लगेका छन्, बुबाका पालासम्म चलेको थियो, अब नातिसम्मको पालामा आउँदा हात धुने पर्ने अवस्था आएको छ ।
नेपाल राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेटका कारण बजारमा माग अनुसार आपूर्ति नहुँदा सुन व्यवसायमा हात धुनुपर्ने अवस्था आएको उनले बताए । सुनमा सिन्डिकेट लागिरहे सुन व्यवसायबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको बताए ।
सिन्डिकेट अन्त्य गर्न सुनचाँदी व्यवसायीले पसल नै बन्द गरेर आन्दोलित हुनुपरेको थियो, तर पनि माग पूरा नभएको उनको भनाइ थियो ।
व्यवसायीलाई आवश्यक सुन सहज तरिकाले पाउनुपर्ने, सुनचाँदी व्यवसायलाई सुरक्षा प्रदान गर्नुपर्नेलगायत माग सरकारले पूरा नगरेको लोकमानका नाति र ज्ञानेन्द्रमान शाक्यको छोरा निलेन्द्रमान शाक्यले बताए । सरकारले व्यवसायीको माग सुनुवाई गर्न सरकारले आलेटाले गरिरहेको छ ।
चाडपर्व नजिकिँदै गर्दा सुन अभावमा व्यवसायीले व्यवसाय नै सञ्चालन गर्न नसक्ने समस्या आएको उनी बताउँछन् । लोकमान सन्सले ३५ जनालाई रोजागार दिइरहेको छ । तर अब उनीहरुको रोजगार गुम्ने अवस्था छ । सरकारले सिन्डिकेट खारेज गरेर व्यवसायीलाई पर्याप्त सुन दिनुपर्छ । किसानको सिजन खेती लगाउने भएजस्तै चाडपर्वको समय सुनचाँदी व्यवसायीको सिजन हो,’ उनी भन्छन्, ‘यो समयमा गरगहनाको माग धेरै हुन्छ, माग अनुसार सुन नपाउँदा हामी व्यवसायबाट हात धुनेमात्र नभई राष्ट्रलाई ठूलो घाटा हुने देखिन्छ ।
पर्याप्त मात्रामा सुन नआएकोले ग्राहकलाई गरगहना दिन नसक्ने अवस्था नआएको उनको भनाइ थियो । विदेशी भूमिमा पसिना बगाउनुभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर लाग्दा राज्यले आफ्नो देशमा टिक्न सक्ने अवस्था सिर्जना नगरेको उनी बताउँछन् ।
सुनचाँदी बचतको सदस्य र सुनचाँदी व्यवसायी संघको सहकोषाध्यक्ष र लायन्सको द्वितीय उपाध्यक्षसमेत रहेका निलेन्द्रमान शाक्यले सुनमा सिण्डिकेट हटाउनुपर्ने बताए ।
सरकारसँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि आन्दोलन गर्दा पनि माग सुनुवाई नभएको उनी बताउँछन् ।
सर्वसाधारणले बेचेको गरगहनाले छिटफुट कारोबार चलिरहे पनि अहिले मागको आधामात्रै सुन आपूर्ति भइरहेको उनी बताउँछन् । चितवनका व्यवसायीले सातामा दुई किलो सुन पाउने गरेका छन् । ‘जिल्लाको जनसंख्या बढेको छ, व्यवसायी बढेका छन्, माग धेरै छ,’ निलेन्द्रमान शाक्यले भने, ‘समस्या सुन व्यवसायीलाई भन्दा ग्राहकलाई धेरै समस्या भइरहेको छ ।
राष्ट्र बैंकले सुनमा लगाएको सिन्डिकेट नतोड्दासम्म सुन अभाव नहट्ने निलेन्द्रमान शाक्य बताउँछन् । पर्याप्त मात्रामा सुन उपलब्ध नहुँदा ग्राहकलाई गरगहना नदिई फर्काउनुपर्ने अवस्था आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए । वैधानिक रुपमा सुन किन्न खोज्दा पनि नपाउँदा व्यवसायी र उपभोक्ता दुवै मर्कामा परेको उनी बताउँछन् ।
सरकारलाई १७ थरी कर तिरेर व्यवसाय गरिरहेका छौँ, तर सरकारले सुन रोकेर हामीमाथि अन्याय गरेको छ । विदेशबाट ५० ग्राम सुन ल्याउन पाउँथे, तर पनि यो सरकारले रोकेको छ । यो कामले सरकारलाई ठूलो घाटा हुने उनी बताउँछन् ।
व्यवसायलाई कच्चा पदार्थ नदिने गर्दा सुन व्यवसाय धराशायी अवस्थामा पुग्ने र विदेशिन पर्ने अवस्था आउने निलेन्द्रमान शाक्य बताउँछन् । सुन व्यवसायहरु अब बन्द हुने अवस्थामा पुगेका छन् ।
सुनको भाउ सबैलाई थाहा छ । सुनमा राज्यले किन आँखा तानिरहेको बुझ्न सकिने अवस्था छैन । ‘ग्राहकलाई पनि भनेजस्तो गहना बनाएर दिन सकिरहेको छैनौँ यसमा दुख लागेको छ’ उनले भने, ‘सुन व्यवसाय गर्नेलाई कालोबजारीय ठानिरहेका छन्, यो अत्यन्तै गलत हो । हामीले घाटा सहनुपरेको छ । बरु यो पैसा विदेशमा लगानी गरेमा हामीलाई फाइदा हुने अवस्था थियो । तर सरकारले सुनमा सिन्डिकेट लादेर सुन व्यवसायलाई धराशायी बनाइरहेको छ । ‘पुर्खौली व्यवसाय भनेर अब बस्ने अवस्था छैन, सरकारले यस्तै गरेमा बाजेदेखि आएको पेशा नातिसम्म त रह्यो, अब छोराछोरीलाई यो पेशामा लगाउन सकिँदैन’ निलेन्द्रमान शाक्यले भने, ‘ राज्यले जनता र सुनव्यवसायीको समस्या किन बुझ्न सकिरहेको छैन, यो बुझ्न सकिरहेको छैन ।’
व्यवसायीलाई बैंकले सातामा एकपटक सुन दिन्छ । यसले साना व्यवसायीलाई कारोबार गर्न कठिन भएको संघको भनाइ छ । चितवनमा सुनचाँदीको व्यवसाय गर्ने पसल पाँच सय हाराहारी रहेको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जनाएको छ ।