के हो दर? अाज किन खुवाइन्छ चेलीबेटीलाई ?

काठमाडौं, भदौ २६ v सनातन हिन्दु नारीहरू मंगलबार राति दर खाएर बुधबार तीजको व्रत बस्दैछन्। भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने परम्परा छ।

विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरूले सुयोग्य पतिको कामना गरी पानी पनि नखाई तीजको व्रत बस्छन्।

नेपाली संस्कृतिमा तीजको अघिल्लो दिन खाइने दरको विशेष महत्त्व छ। दर भन्नेबित्तिकै माइत गएर आमाले बनाएको खानेकुरा खाने भन्ने मान्यता छ। तर पछिल्लो समय शहरमा बसोबास गर्नेको संख्या बढेका कारण हिजोआज तीज आउन महिना दिन बाँकी रहँदादेखि समूह बनाएर दर खाने चलन बढेको छ।

तीजको अघिल्लो दिन खाइने दरका परिकार र प्रचलनमा पनि धेरै फेरबदल आइसकेको छ। यसै सन्दर्भमा वरिष्ठ संस्कृतिविद् कान्ता भट्टराईले  सविना खनालसँग तीज र दरको सम्बन्ध यसरी प्रष्ट्याइन्–

दर के हो ?

हिन्दु वैदिक परम्पराअनुसार व्रत बस्नु अघिल्लो दिन शरीरलाई शुद्ध राख्न शुद्ध खानेकुरा खानुपर्छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ।

व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ। तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो। पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे, जसले गर्दा उनीहरूलाई पर्याप्त पौष्टिक आहार पनि उनीहरूलाई पुग्दैन थियो।

शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग त्यति धेरै जोडिएको पाइँदैन।

पछिल्लो दिन व्रत बस्न अघिल्लो दिन अडिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो। तीजमा दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ। व्रत बस्दा शरीर कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको छ। तीजको दरमा के खाने भन्नेमा धेरै महिला दिदिबहिनीहरू अलमलिइरहेका पाइन्छ। दरमा खाइने खानेकुराहरू स्वस्‍थ र पोषणयुक्त हुनपर्छ।

तर पछिल्लो समय दरमा महिलाहरूले एकदम चिल्लो पिरोयुक्त माछा मासु, विभिन्न किसिमका गुलियो पेय पदार्थहरू खाने चलन बढेको छ। अझ आजभोलि घरमा बनाएर भन्दा बाहिर पार्टी प्यालेसहरूमा बनाएको रेडिमेड खानेकुरा खाने प्रचलन बढ्दै गएको छ।

यसले घरमै आफन्तले बनाएर दिएको खानेकुरामा जति आत्मीयता हुन्छ, पार्टी प्यालेसमा त्यस्तो पाइँदैन। अझ यसले स्वास्थ्यमा राम्रो गर्दैन। हुन त हाम्रो घर भान्छामा चाड पर्व र विशेष समारोहमा विशेष खानेकुरा बनाउने चलन छ।  यो प्रचलन अचेल घट्दै गएको पाइन्छ।

किन खुवाइन्छ चेलीबेटीलाई दर ?

हिन्दु नेपाली संस्कारमा चेलीहरू तीजमा माइत जान्छन् र व्रत बस्छन्। बल्लबल्ल माइत आएका चेलीबेटीहरूलाई मीठो खुवाउने मन अभिभावकहरूमा हुनु स्वाभाविक हो। चेलीबेटीहरू तीजको दिन व्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मीठोमीठो खुवाउने चलन पहिलेदेखि नै चलेको हो।

यसरी तीजको अघिल्लो दिन खाने परिकारलाई दर भनियो। पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे, जसले गर्दा उनीहरूलाई पर्याप्त पौष्टिक आहार पनि उनीहरूलाई पुग्दैन थियो। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो। पहिले पहिले गाउँघरमा मीठो खान चाडबाड नै कुर्नुपर्थ्यो।

त्यस कारण तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिलो खानेकुरासहित दर खुवाउने चलन सुरु भएको हो। दरको रूपमा तीजको अघिल्लो दिन राति अबेरतिर अनादीको लट्टे, घिउ हालेको खाना, खीर, ढकने जस्ता तागत दिने खानेकुरा खाने चलन छ। तर हिजोआज दरको रूपमा माछा मासुलगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ।

तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन। व्रत बस्ने अघिल्लो दिन दूध, घिउबाट बनेको चोखो र अाडिलो खानेकुरा खानुपर्छ। हिजोआज ठाउँअनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ। त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा ख्याल गर्नुपर्छ।

तर पतिलाई राम्रो होस्, राम्रो पति पाउन भन्दै आफ्नो शरीर र मनलाई अप्ठ्यारोमा पारेर पानी पनि नखाई व्रत बस्नु राम्रो होइन। शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न सकिन्छ। हाम्रो धर्मशास्त्रले पानी नखाई व्रत बस्नु भनेर कतै भनेको छैन, जसले गर्दा शारीरिक अवस्थाअनुसार पानी र फलफूल खान सकिन्छ।

तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन। व्रत बस्ने अघिल्लो दिन दूध, घीउबाट बनेको चोखो र अाडिलो खानेकुरा खानुपर्छ। खाने शैलीदेखि तीजका गीतमा पनि विकृति हिजोआज शहरी क्षेत्रमा तीज आउनुभन्दा धेरै अगाडिदेखि दरको नाममा होटल र पार्टी प्यालेसहरूमा रेडिमेड खानेकुरा खाने प्रचलन बढेको छ।

पहिले पहिलेका दरमा चेलीबेटी र आमाबीचको प्रेम झल्किन्थो। गीतहरूमा पनि आमाको दरको महिमा गरिन्थो तर अहिले व्यापारिक दर भएको छ। होटल, पार्टी प्यालेसका साहुहरूले दर पकाउँछन्, प्लेटको हिसाबमा हुन्छ, जुन स्वस्थकर छैन, जसमा प्रेम हुँदैन अनि नेपाली मौलिक परिकार पनि पाइँदैन।

पहिले पहिलेका तीज गीतहरूमा महिलाहरूले घरमा भोगेका पीडा, आफ्ना इच्छाहरूलाई तीज गीतको भाकामा साथीहरूसँग व्यक्त गर्ने र धार्मिक भावना भएका गीतहरू गाउने चलन थियो।

पहिलो चरण प्रणाम माता अनि गुरुलाई आशीर्वाद देऊ महादेव हाम्रो स्वामीलाई हाम्रा स्वामी अघि बढ्न म त पछि लाग्नेछु देश सेवा गर्नलाई अघि बढ्नेछु। यस्ता सन्देशमूलक र भावनात्मक गीत गाउने चलन थियो।

अहिले पहिला जस्तो तीजमा नै गाउने निश्चित भाकाहरूमा गीत गाइँदैन, सबै शैलीका गीत गाउने चलन बढेको छ। त्यसैले तीज गीतको संस्कृति बोक्ने खालका गीतहरू हराउँदै गएका छन्। सस्तो लोकप्रियताका कारण हिजोआज उत्ताउलो पाराले तीज गीत गाउने चलन बढेको छ। स्वतन्त्रताको नाममा उच्छृंखलता बढेको पाइन्छ।

देखावटीका रूपमा मनाउन थालियो तीज पहिले पहिले छोरीलाई सानैमा विवाहे गरेर दिने चलन थियो। विवाह गरेर गएको घरमा छोरीचेलीले धेरै दु:ख गरेको पाइन्थ्यो तर आजभोलि समय फेरिएको छ। छोरीचेलीहरू धेरै पढेका छन्। स्वतन्त्र र स्वावलम्बी छन्, जसले गर्दा पहिलेका छोरीचेलीले जस्तो दु:ख गर्नुपरेको छैन।

नारीहरू धेरै स्वतन्त्र र स्वावलम्बी भएकै कारण तीज पछिल्लो समय भड्किलो बन्दै गएको अनुभव गर्न सकिन्छ। तीज आउन महिना दिन अगाडि नै विभिन्न खालका राजसी भोजन खाने चलन छ। फेरि आजभोलिको तीजमा महिलाहरूले गरगहना तथा कपडा प्रदर्शन गर्ने गरेका पाइन्छ।