स्याङजा फुटबल संघलाई २४ औं आदर्श कपको उपाधि

पोखरा, २८ भदौ ।

सातवर्षको विश्रामपछि आयोजित २४ औं सस्करणको आदर्श कपको उपाधि स्याङजा पुगेको छ । बुधबार लेखनाथ रंगशालामा भएको फाईनलमा आयोजक आदर्श युवा क्लबलाई ३–१ गोलको अन्तरले पराजित गर्दै उपाधिमा आफनो नाम पहिलो पटक लेखायो ।

डेब्यु सहभागितामै उपाधि उचाल्दै स्याङजाले इतिहास लेख्दा आयोजकले पनि उत्कृष्ठ नजितासँगै उपविजेतामा चिक्त बुझायो । घरेलु समर्थकको साथ र होमग्राउण्डको फाईदा उठाउँदै लिएको अग्रतालाई जोगाउन भने आयोजकले सकेन् । स्याङजाले उत्कृष्ठ कम ब्याक गर्ने क्रममा पहिलो हाफमै दुईगोल सम्भव बनाएपछि जित सुनिश्चित गर्ने संकेत प्रष्टिएको थियो ।

खेलको २४ औं मिनेटमा विमल रानाले गोल गर्दै आयोजकलाई हौसला थपे । डिफेन्स अजित भण्डारीले हानको लामो बल पेनाल्टी बक्समा रानाले कलेक्ट गर्दै स्याङजाका गोलकिपर अगाडि बढेको अवस्थामा हानेको ‘फ्लिक’ गोलमा परिणत भएपछि प्यारापिटमा बसेका दर्शकको हुटिङ चर्किन पुग्यो । तर ३५ औं मिनेटमा स्याङजाले गोल फर्काएपछि खेल प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरियो ।

३५ औं मिनेटमा अफ्रिकन खेलाडी मार्टिनले गोल गरेपछि स्याङजा बराबरीमा खेल्न पुग्यो । मार्टिनको गोलले दर्शकलाई निराश बनायो । पहिलो हाफको इन्जुरी समयमा स्याङजाका कप्तान लक्ष्मण रुचालले गोल गर्दै आयोजकलाई उपाधिबाट टाढा बनाउने भूमिका खेले । विश्वास श्रेष्ठले दिएको कर्नर बललाई रुचालले पेनाल्टी बक्सबाट प्रहार गरेको बल पोष्टभित्र छिरेपछि स्याङजाले उपाधि उचाल्ने लक्षण देखायो । ८८ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै स्याङजाको जित सुनिश्चित बनाए । उपाधि उचाल्न स्याङजाले अधिकांश ए डिभिजनका खेलाडीसँगै अफ्रिकन खेलाडलाई जर्सीमा उतारेको थियो ।

आदर्श युवा क्लब भण्डारढीकको आयोजना, अम्बे सिमेन्टको मुख्य प्रायोजनमा लेखनाथ रंगशालामा सञ्चालित २४औं सस्करणको आदर्श कपमा आठ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धाको लागि लेखनाथ रंगशालामा उत्रिएका थिए ।

२०६७ सालपछि स्थगित भएको फुटबल प्रतियोगितालाई नयाँ कार्यसमितिसँगै मैदानको पुनर्निर्माणपछि फेरी प्रतियोगिताको शुरुवात गरिएको हो । विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा फुटबल मैदान तयार पारिएको थियो । मैदानसँगै पृथ्वीराजमार्ग किनार तर्फ ५ सय दर्शक क्षमताको प्यारापिट समेत निर्माण गरिएको छ । जसले दर्शकलाई आठ दिनसम्म आनन्दसँग बसेर फुटबल हेर्ने बातावरण मिलेको थियो ।

पुर्वाधार नभएकोले प्रतियोगिता स्थागित गरिएको थियो । दर्शकलाई आवश्यक प्यारापिट निर्माण गरिएको छ । फुटबल मैदान वरिपरी ट्रयाक समेत छ । खेलाडीलाई चेन्जिङ रुम र मैदान संरक्षण गर्न तारजाली लगाईएको छ । बैकल्पिक खेलाडी तथा अफिसियलको लागि मैदानको छेउमा बेन्च राखिएको छ । ती पुर्वाधार बनाउन क्लबले विभिन्न संघसंस्थाको सहयोग जुटाएको क्लबले जनाएको छ । एक करोड रुपैयाँ भन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।

फुटबल मैदानको लागि क्लबले २५ लाख रुपैयाँ खर्च गरेको छ । प्यारापिट निर्माणको लागि मर्सिकोर नेपालले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । तत्कालिन लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा चेन्जिङ रुम, फुटसल मैदान निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार नगरपालिकाले १० लाख र उद्योग वाणिज्य संघबाट ७ लाख ५० हजार सहयोग प्राप्त भएको थियो । स्थानीयबासिन्दाकै सक्रियतामा थप आर्थिक सहयोग जुटाई पुर्वाधार तयार गरिएको क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले बताए ।

२४ औं सस्करणको आदर्श कप विजेता स्याङजाले तीन लाख नगद पुरस्कार राशीको थाप्यो । उपविजेतामा चित बुझाएको आयोजक आदर्श क्लबले भने नगद दुईलाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा अनुशासित टोलीको पुरस्कार बाग्लुङ फुटबल संघ घोषित भयो । सर्वाधिक गोलकर्ता भने आयोजक आदर्श युवा क्लबका बेलप्रसाद गुरुङ(४ गोल) हुदैं पुरस्कार थापे ।

फाईनल खेलमा म्यान अफ दि म्याच भने मार्टिन घोषित भए । बेष्ट प्लेयर आदर्श युवा क्लबका भिसन गुरुङ, आयोजक आदर्शकै अजित भण्डारी बेष्ट डिफेन्स, बेष्ट मिडफिल्ड स्याङजा लक्ष्मण रुचाल, बेष्ट गोलकिपर स्याङजाको राजाबावु थापा घोषित भए । उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाए । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैया प्राप्त गरेका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका हुन । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको थियो भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका थिए । रिद्धिसिद्धी सिमेन्टले प्रतियोगिताको शीर्षक प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेतालाई प्रमुख जिल्ला अधिकारी कास्कीका चक्रबहादुर बुढा लगायतले पुरस्कार वितरण गरेका थिए ।