मनकामना केबलकारमा तीनवटा डिब्बा थपिए (फाटोफिचर)

चितवन, १२ कात्तिक । मनकामना केवलकारमा तीनवटा गोन्डोला(डिब्बा) थपिएको छ।  तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्ने भएको छ।थपिएका तीन गोन्डोलाबाट दैनिक थप एकहजार यात्रुहरु मनकामना जान सक्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले नयाँ गोन्डोलाको शुभारम्भ गरे।

मन्त्री अधिकारीले नेपालको पर्यटन क्षेत्रमा मनकामना केवलकार ईन्नोभेसनमार्फत स्थापित भएको डेस्टिनेसन भएको बताए।

मनकामना केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार अहिले भारतीय पर्यटक आउने क्रम समेत बढेको छ। गत वर्ष केवलकार चढ्नेमा २१ प्रतिशत भारतीय रहेको उनले जानकारी दिए।

१८ वर्षअघि संचालनमा आएको यो केबलकारमा अहिलेसम्म १ करोड ३८ लाख १२ ४ सय ६८ले केवलकार चढिसकेको पनि श्रेष्ठले बताए।    २०५५ साल मंसिर ८ गते सञ्चालनमा आएको केवलकारमा वार्षिक १० लाख यात्रु चढ्ने गरेका छन्।

पाँच सय वर्षभन्दा लामो इतिहास भएको हिन्दुहरुको आस्थाकी देवी मनकामना मन्दिर जाने स्थानमा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले केवलकार निर्माण गरेका थिए ।