नेत्रदान पूण्यको काम

एक अध्ययनले देखाए अनुसार नेपालमा प्रति एक हजार मानिसमा एक जना व्यक्ति दृष्टिविहीन हुने गरेका छन् । नेपाल सरकारले गरेको अन्धोपन सर्वेक्षणले सार्वजनिक गरेको तथ्यांकले विश्वमा प्रति सेकेण्ड एक जनाले दृष्टि गुमाइरहेका देखाएको छ । मानव अंगहरु सबैको आ–आफ्नै विशेषता छन्, सिबैले आफ्नो काम निरन्तर रुपमा गरिरहेका छन् । शरीरका भित्री अंगहरु निरन्तर आफ्नै काममा लागिरहेका हुन्छन् । एकले अर्काको काममा बाधा नपु¥याउने भएका कारण मानव जीवन प्राकृतिकरुपमा मृत्युपर्यन्त एकनाश चलिरहन्छ । सबै मानव अंगहरुको आफ्नै भूमिका रहेको भएपनि मानिसको आँखालाई अति महत्वपूर्ण संवेदनशील अंगका रुपमा लिने गरिएको छ । कारण यसले बाह्य कुराहरु देख्नका लागि मानिसलाई मद्दत गर्दछ ।
मानव शरीरको महत्वपूर्ण अंगको रुपमा आँखा रहेको हुँदा यसको गुणलाई सर्वोपरि ठान्दै व्यक्तिको दृष्टिविहीनताका कारण भएको फरक क्षमता भएकालाई अरु सरह बनाउन नेत्रदानका कार्यक्रहरु आँखा अस्पतालले सञ्चालन गरिरहेका छन् । दृष्टिविहीनलाई बाह्य संसार देखाउन सहज हुने अपेक्षा सहित चितवनमा रहेको भरतपुर आँखा अस्पतालले ‘आई बैंक’ खोल्ने तयारी गरिरहेको छ । हालसम्म अस्पतालले काठमाडौँबाट आँखा ल्याएर दृष्टिविहीन व्यक्तिमा आँखा प्रत्यारोपण गर्दै आएको छ । मरणोपरान्त शरीरका विभिन्न अंगहरु दान गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ ।
दान गरिएका अंग ग्रहण गर्नुपर्ने संस्था र प्रविधिको अनुपस्थितिले दाताले दान गरेको अंगले अपेक्षित काम गर्न पाएको छैन । व्यक्तिको निधनपछि मात्र आँखा निकालिने भएकाले व्यक्तिले जीवित अवस्थामै आँखा दानको इच्छापत्र फाराम भर्नुपर्नेछ । त्यस्तो इच्छापत्र गर्नुअघि सम्बन्धित दाताले आफ्नो परिवारको सहमति र स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ । मानव जीवन महत्वपूर्ण छ । यस्तो अभियानमा हेपाटाइटीस, एचआइभी, क्षयरोग, आँखा पाक्ने र क्यान्सरलगायतका रोगीहरु बाहेकले सहभागिता जनाउन सक्ने भएकाले मृत्युपछि प्रदान गरिने आँखाले नयाँ शरीरमा प्रवेश गरेर फेरि संसार देख्न पाउने सुखद् अवस्था नै हुनेछ । व्यक्तिले नेत्रदान गर्न चाहेमा भरतपुर आँखा अस्पतालमा गएर फारम भरेर आफ्नो मृत्यु पश्चत अन्य व्यक्तिलाई आँखा देख्न सहयोग पु¥याउन सक्छन् । त्यसैले नेत्रदान गरेर पूण्य कमाऔँ ।