शमीपुरमा भएको रनिङ शिल्ड हाजिरीजवाफमा पृथ्वी मावि पहिलो

चितवन, १८ कात्तिक । कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालय शमीपुरले प्रथम अन्तर विद्यालय आधारभूत तह रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
कालिका नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि १८ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा पृथ्वी मावि पहिलो भएको छ । कक्षा आठसम्म अध्ययन गर्ने विद्यार्थीहरुबीच भएको प्रतियोगितामा चित्रवन आवासीय मावि दोस्रो, आधारभूत विद्यालय जुटपानी बजार तेस्रो तथा आधारभूत विद्यालय सहपुर सान्त्वना भएका छन् । प्रतियोगितामा पहिलो हुने पृथ्वी माविले रनिङ शिल्डसँगै शील्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यालयलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक विशाल बुढाथोकीले जानकारी दिए ।
राष्ट्रिय आधारभूत विद्यालय शमीपुरका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले विद्यार्थीहरुलाई आन्तरिक र वाह्य क्षमता अभिवृद्धि गराउने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिता गरिएको बताए । कालिका नगरपालिकाभित्र विद्यार्थी लक्षित अतिरिक्त क्रियाकलापहरु निरन्तर भइरहनुपर्नेमा रायमाझीले जोड दिए । राष्ट्रिय आधारभूत विद्यालय शमीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष पूर्णबहादुर पुरी, भीमोदय माविका प्रधानाध्यापक डाक्टर हरि कंडेललगायतले मन्तव्य राखेका थिए ।