सर्पको संरक्षणमा जोड

शालिकराम भट्टराई
कावासोती, २१ कात्तिक । हाम्रो गाउँ घर वरिपरी धेरै प्रकारका सर्पहरु रहेका हुन्छन् । जसमध्ये केही सर्पहरु अति नै विषालु हुन्छन् । पर्यावरणीय सन्तुलनका हिसाबले सर्पलाई एउटा अभिन्न अंगको रुपमा लिने गरिन्छ ।
वायुमण्डलमा हुने विषालु ग्यासहरुलाई सर्पले आफूतर्फ खिचेर लिने भएकाले सर्पलाई पर्यावरणीय सन्तुलन कायम राख्नका लागि समेत सर्पलाई संरक्षण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधबार पूर्वी नवलपरासीको कावासोतीमा नेपाल रेडक्रस सोसाइटी कावासोती शाखाले आयोजना गरेको ‘सर्प बचाउँ, प्रकृति जोगाऔँ’ भन्ने अन्तरक्रियाका सहभागीहरुले सर्प संरक्षणमा आवाज उठाएका हुन् । सर्पदंशसँग सम्बन्धित बिशेषज्ञहरु समेत सहभागी भएको अन्तरक्रियामा सर्प मानवको शत्रु नभई मित्र भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
जैविक विविधता संरक्षणमा सर्पको भूमिका निकै महत्वपुर्ण मानिन्छ । नेपालमा ८० प्रजातिका सर्प पाइनेमा २१ प्रजातिका सर्प विषालु मानिन्छन् । कार्यक्रममा डाक्टर छविलाल थापा, डाक्टर गोपाल खनाल, डाक्टर कमल देवकोटा, डाक्टर डेभिड, डाक्टर आमोदलगायत स्थानीय क्लब, संघसंथाका प्रतीनीधि, सामाजिक अभियन्ता गरी ७० जनाकोे सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीका सभापति ऋषिराम कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति बेदप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रममा तीर्थ कंडेलले सहजीकरण गरेका थिए ।