जुवाको निहुँमा झडप हुँदा मगरको हत्या

 

पुष्पराज अधिकारी

हेटौंडा, २२ कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा गएराती जुवाको खालमा झडप हुँदा एक जनाको मृत्यु हुनुका साथै १ जना गम्भीर घाईते भएका छन् ।

घटना पश्चात मकवानपुर प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ समेत गरेको छ । बिहीबार राति साँढे १ बजे भएको झडपमा हेटौँडा १२ पदमपोखरी सिग्रेनीका ४७ वर्षीय रमेश राना मगरको मृत्यू भएको थियो ।

उनलाई घटना पश्चात चुरे हिल अस्पतालमा उपचारका लागि ल्याइएकोमा डाक्टरले बिहीबार बिहान साँढे २ बजे मृत घोषणा गरेका थिए । घटनामा हेटौँडा १२ कै २५ वर्षीय रंजीत श्रेष्ठ घाईते भएका छन् । उनलाई हेटौँडा अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले हेटौँडा ११ नवलपुरका २३ वर्षीय जिसु श्रेष्ठ, २९ वर्षीय सुरेश श्रेष्ठ, २३ वर्षीय सौरव अर्याल, २५ वर्षीय लुङ्वा भन्ने अमुल लामा, २४ वर्षीय लुङ्वा भनिने अमृत लामा, २२ वर्षीय कत्ले भतिज भनिने रुपेश चुनी मगर र नुवाकोट जिल्ला घर भई नवलपुरमा डेरा गरी बस्ने २९ वर्षीय घन टाउके भनिने सुजेन लामालाई नियन्त्रणमा लिएको छ ।