चितवनमा धुमधामसँग छठ मनाइदै (हेरौँ ४ फोटो)

चितवन, २७ कात्तिक । श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा रहेको छठ पर्व मंगलबार सूर्य भगवान र छठी माताको पूजा आरधना गरी मनाइएको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवत रुपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म चार दिन मनाइन्छ ।

 

आइतबारदेखि विधिवत रुपमा सुरु भएको छठ पूजाको दोश्रो दिन पन्चमी अर्थात् सोमबारका दिनदेखि चितवनमा ब्रतालुले निर्जला ब्रत सुरु गरेका थिए । कात्तिक शुक्ल षष्ठी तिथिको दिनलाई छठ पर्वको मुख्य दिनको रुपमा मनाउने गरिन्छ । यस दिनलाई सँझिया घाटे समेत भन्ने गरिएको छ । ब्रतालुहरु मंगलबार दिउँसो नुहाई धुवाइ गरी चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, ताल इत्यादि जलाशयमा तयार पारिएको छठीघाटमा जान्छन् ।

छठीघाटमा चोखो माटोले बनाइएको पूजास्थल सिरसोता छेउमा बसेर ब्रतालुले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाउँछन् । छठी माताको पूजा गरेपछि सन्तानको सुस्वास्थ्य, दीर्घायु र प्रगति प्राप्त हुने विश्वास छ ।
ब्रतालुहरुले आज साँझ जलशायमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अक्षता, पातसहितको मूला लगायतका फलफुल र प्रसाद राखेर अस्ताउदै गरेका सूर्य भगवान र छठी मातालाई अर्घ दिएका छन् । सूर्य अस्तपछि ब्रतालुहरु छठी माताको पारम्परिक गीत गाँउदै आ–आफनो घर फर्किने प्रचलन रहेको छ ।

षष्ठीको भोलि पल्ट सप्तमी तिथिका दिन अर्थात् बुधबार बिहान झिसमिसेमै ब्रतालु फेरि नुहाई धुवाइ गरी चोखो भइ पुजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउदै छठ घाटमा पुगी छठ पूजाको बिसर्जन गर्ने गर्दछन् । नारायणगढको नारायणी नदी किनारका साथै माडी, पूर्वी चितवनको पर्सालगायतका विभिन्न स्थानमा धुमधामसँग छठ पूजा गरिएको छ ।