प्रहरी महानिरीक्षक सर्वेन्द्र भन्छन् : देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस् (भिडियो)

 

चितवन, १७ मंसिर । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनलाई आग्रह गरेका छन् ।
प्रहरी हरदम सुरक्षाका लागि तयार छ पर्यटन व्यवसायीहरुलाई सुझाव दिँदै आईजीपी खनालले भने–‘अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउनुस् ।’

 

 

“समुदाय–प्रहरी साझेदारी” चितवनको पर्यटनमा प्रहरीको भूमिका विषयक सरोकारवालहरु बीच अन्र्तक्रिया कार्यक्रममा

Publiée par Sauraha online sur Dimanche 2 décembre 2018

 

पर्यटकीय नगरी सौराहामा आयोजित “समुदाय–प्रहरी साझेदारी” चितवनको पर्यटनमा प्रहरीको भूमिका विषयक सरोकारवालहरु बीच अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी लगायतका अवान्छित क्रियाकलापमा रोक लगाउन चितवन प्रहरीलाई कडा निर्देशन दिए ।

‘पर्यटक आन्तरिक हुन् या बाह्य, उनीहरु शान्तपूर्वक बस्न चाहन्छन्’, खनालले भने, ‘त्यसैले शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्नका लागी पर्यटकिय क्षेत्रमा गुण्डागर्दी गर्ने, लफङ्गा र जथाभावी मोटरसाईकल चलाउने अवान्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन निर्देशन गर्दछु ।’

क्षेत्रीय होटल संघ चितवनले आयोजना गरेको कार्यक्रममा खनालले शहर गतिशील हुनुपर्ने तर गतिशीलताको नाममा असभ्यता र अश्लिलता स्वीकार्य नहुने बताए । ‘पर्यटकीय शहरमा अरुलाई कम्फ्युजन हुने क्रियाकलाप हुनु हुँदैन’ उनले भने, ‘ अब सुरक्षा र विकासको चाहनालाई सँगसँगै लानुपर्ने आवश्यकता छ, चितवनको सौहारा आउँदा यहाँका ब्यवसायी र सुरक्षाकर्मीले देखाउने ब्यवहारले यस क्षेत्र र समुच्च मुलुकको परिचय दिन्छ ।’

नेपाल सकारको ‘भिजिट नेपाल २०२०’ अभियान अन्तर्गत चितवनमा २० लाख पर्यटन ल्याउने लक्ष्य राखिएको छ । सौराहामा आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन नेपाल प्रहरीले टाँडी प्रहरीलाई ७ वटा मोटरसाइकल, १० वटा रेडियो सेट र १ थान बेस सेट उपलब्ध गराएको छ । प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको सो सामग्री प्रहरी प्रमुख खनालले स्थानीय प्रहरीलाई हस्तान्तरण गरेका थिए । 
सो अवसरमा संघका अध्यक्ष सुमन घिमिरेले चितवनको समग्र पर्यटन क्षेत्रको माग राख्दै चौविसै घण्टा सुरक्षासगैँ जीप सफारी मोडिफाई गरेर चलाएको कानुनी मान्यता दिन माग गरेका थिए ।
संघका पूर्व अध्यक्ष गिरीधारी चौधरी आम समुदायले नै प्रहरीलाई सहयोग गरेर शान्ती सुरक्षा कायम राख्ने काम गर्नुपर्ने बताए ।
उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले सुरक्षालाई स्थापति गराउन प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने बताए । संघका महासचिव राममणि खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा क्षेत्रिउ रेवानका अध्यक्ष गोर्कण गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।  सौराहामा एक रातमा ५ हजार ५ सय पर्यटक राख्न सक्ने क्षमता छ ।
सो अवसरमा आईजीपी खनालले सौराहाको सुरक्षामा विशेष रणनितिका साथ थप सक्रिया बढाउन ईप्रका टाडीका प्रमुख दयानिधि ज्ञावाली निर्देशन समेत दिएका थिए ।