बजार क्षेत्रका सिसि क्यामेरा बिग्रीए

आनन्द पोखरेल
चितवन, १९ मंसिर । देशकै ट्रान्जिट प्लाइन्टको रुपमा रहेको चितवन जिल्ला सुरक्षाका दृष्टिकोणले निकै नै संवेदनशील मानिन्छ । सुरक्षालाई मध्यनजर गर्दै जिल्लाको मुख्य बजार क्षेत्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा राखिएको भएपनि अधिकांशले काम गरेका छैनन् ।
भरतपुर महानगरपालिकाको पुलचोक, चौबिसकोठी, केन्द्रीय बस टर्मिनल, आँपटारीलगायतका विभिन्न स्थानमा बैंक वित्तीय क्षेत्र तथा स्थानीय उद्योगी, व्यवसायीको पहलमा सिसि क्यामेरा जडान गरिएको थियो । रेखदेखको कमीका कारण बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराहरुले काम गर्न छोडेका छन् । भरतपुरका सार्वजनिक स्थानमा राखिएका सिसि क्यामेरा मध्ये मुख्य बजार क्षेत्रका क्यामेराले काम गर्न छोडेका हुन् ।
बजार क्षेत्रमा जडान भएका ३७ वटा क्यामेरा मध्ये सात वटा क्यामेरा मात्रै नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । घाम पानी, चट्याङ, धुलोका कारण बजार क्षेत्रमा रहेका सिसि क्यामेरामा खराबी आएको हुनसक्ने रेग्मीको भनाइ छ । जुन उद्देश्य राखेर सिसि क्यामेरा जडान भएकोे थियो सिसि क्यामेरा बिग्रीदा त्यो उद्देश्य पुरा हुन कठिन भएको रेग्मीले बताए ।
चितवन जिल्लामा भएका विभिन्न अपराधिक घटनामा संलग्न भएका व्यक्तिलाई प्रहरीले सिसि क्यामेराको फुटेजको सहयताले पक्राउ गर्न समेत सफल भएको थियो । सार्वजनिक स्थानमा जडान गरिएका सिसि क्यामेरा बिग्रीदा अपराध सवारी दुर्घटना, चोरी, लुटपाट जस्ता घटनाको अनुसन्धानमा समेत कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहले बताए । ‘चितवन जनघनत्वको चाप बढ्दै गरेको शहर हो’ शाहले भने, –‘यहाँ हिट एण्ड रनका घटनाहरु धेरै हुने गरेका छन्, त्यस्ता घटनामा संलग्नलाई सिसि क्यामेराको सहायताले पक्राउ गर्न सहज हुने गरेको थियो ।’
बजार क्षेत्रमा सिसि क्यामेरा बिग्रीदा अपराध अनुसन्धानमा केही असहजता बढेको शाहले बताए । प्राविधिक टोलीहरुले सिसि क्यामेरा बिग्रीएको ठाउँ खोजी गर्न सुरु गरेको उल्लेख गर्दै केही दिनमा नै समस्या समाधान हुनसक्ने शाहको भनाइ छ । सिसि क्यामेरा मर्मतका लागि प्राविधिकको टोलीले क्यामेरा राखेका ठाउँमा चेकजाँच गर्न सुरु गरेको केही दिनमा नै समस्या पत्ता लाग्ने र समाधान गरिने शाहले बताए ।
भरतपुर महानगरपालिका भित्रका सार्वजनिक स्थानमा राखिएको सिसि क्यामेराको मोनिटर जिल्ला प्रहरी कार्यालय चितवन तथा उद्योग वाणिज्य संघ चितवनमा राखिएको छ । बजार क्षेत्र बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी, महानगरको पहलमा जडान गरिएको सिसि क्यामेराको मर्मतको जिम्मा समेत समुदायले लिएको भएपनि बिग्रीएको सिसि क्यामेरा मर्मत हुन सकेको छैन । थर्ड भिजन नामक संस्थाले सिसि क्यामेरा मर्मतको ठेक्का लिएको भएपनि समयमा नै मर्मतको काम सुरु गरेको छैन ।
३० वटा क्यामेरा बिग्रीदासम्म सरोकारवाला पक्ष मौन बस्नुको कारण बारे सबै मौन छन् । स्थानीय सरकारले समेत सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान दिनुपर्नेमा सिसि क्यामेरा बिग्रीएको बारे तथा मर्मतको समेत भरतपुर महानगरपालिकाले कुनै पहल गरेको छैन ।