महायज्ञको पूर्वसन्ध्यामा बृहत मोटरसाइकल र्याली गरिने

चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको गणेशस्थानमा आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म हुने श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को तयारी तीव्र पारिएको छ ।
महायज्ञलाई सफल बनाउनका लागि विभिन्न समितिहरु गठन गर्दैै कामहरु भइरहेका छन् । बुधबार धार्मिक संघसंस्था समन्वय उपसमितिको बैठक बसी महायज्ञलाई सफल पार्नका लागि शोभायात्रा तथा महायज्ञ अवधिभरी धार्मिक व्यक्ति तथा संस्थाको उपस्थिति गराउने निर्णय गरिएको छ । मंसिर २२ गतेदेखि सुरु हुने महायज्ञको प्रचार प्रसारका लागि २० गते बिहीबार वृहत मोटरसाइकल तथा २२ गते शनिबार बिहान कलश यात्रा गरिने महायज्ञको धार्मिक संघसंस्था समन्वय उपसमितिका संयोजक टंकनाथ पौडेलले बताए ।
महायज्ञमा व्यापक रुपमा धार्मिक व्यक्तित्वहरुको सहभागी गराउँदै त्यहाँबाट संकलन भएको रकमले गणेशधाम निर्माण गर्ने तयारी भएकाले समेत व्यापक प्रचार प्रसार आवश्यक रहेको पौडेलको भनाइ छ । महायज्ञको पूर्वसन्ध्यामा बिहीबार दिउँसो चार बजे गणेशस्थान मन्दिरबाट निस्कने वृहत मोटरसाइकल ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गर्ने महायज्ञ मूल आयोजक समितिका महासचिव रविन्द्र बरालले जानकारी दिए । गणेशस्थानको पूर्व पट्टी रहेको कैलाश टोलको सिद्धार्थ चोकबाट सुरु हुने मोटरसाइकल र्याली भरतपुर ११ को बीचभाग हुँदै घोलबजार निस्केर त्यहाँबाट बीचैबीच हुँदै मिलन चोक निस्कने बरालले बताए ।
मिलन चोकमा निस्कने र्यालीले केही बाटो मुख्य सडक हुँदै केन्द्रीय बस टर्मिनलाई घुम्दै वडा नम्बर ९ का केही भाग घुमेर स्याउली बजार हुँदै चौबिसकोठी, धर्मचोक, शिवघाट, बाह्रघरे, बेलचोक, शहीदचोक, पुलचोक पुग्ने मोटरसाइलक र्यालीले गैंडाकोटको केही भाग परिक्रमा गर्दै पुनः पुलचोक आएर पुलचोकबाट लिलाचोक हुँदै भरतपुर २ नम्बर वडा पुगेर गणेशस्थानमा पुग्ने बरालको भनाइ छ ।
त्यस्तै महायज्ञ सुरु हुनु पूर्व २२ गते शनिबार बिहान गणेशस्थानबाट निस्कने कलशसहितको शोभायात्रामा सहभागी हुनका लागि आयोजकले आग्रह गरेको छ । बिहान सात बजे गणेशस्थानबाट सुरु हुने कलश यात्रा विशाल चोक, वीरेन्द्र क्याम्पस चोक, पुलचोक, पोखरा बसपार्क हुँदै महायज्ञ स्थलसम्म पुग्नेछ । शोभायात्रामा भरतपुरका विभिन्न भागबाट सहभागी हुनका लागि आग्रह गर्दै धार्मिक संघसंस्था समन्वय उपसमितिका संयोजक पौडेलले आफूलाई पायक पर्ने ठाउँबाट सहभागी हुन अनुरोध गरेका छन् ।
शोभायात्रामा धार्मिक संघसंस्थाबाट सहभागी हुनका लागि पत्राचार गरिने उल्लेख गर्दै पौडेलले महायज्ञको अवधीभरी गुरुहरु र विशिष्ट धार्मिक व्यक्तिलाई यज्ञ स्थलमा सहभागी गराइने बताए । बुधबारको भेलामा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, पतञ्जलि योग समिति चितवनका अध्यक्ष राम वस्तीलगायतका व्यक्तिले मन्तव्य राखेका थिए । महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ ।