स्मल हेभन स्कुलमा अन्तर विद्यालय एथलेटिक्स सुरु

चितवन, २० मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा रहेको स्मल हेभन  स्कुलको आयोजनामा आठौँ अन्तर विद्यालय एथलेटिक्स प्रतियोगिता सुरु भएको छ ।
मंसिर २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चितवन तथा नवलपुर क्षेत्रका विभिन्न ३५ वटा संस्थागत विद्यालयहरुले सहभागिता जनाएका छन् । एथलेटिक्स तथा कबड्डी, डोरी तान्ने लगायतका विभिन्न १५ वटा विधामा छात्र र छात्राबीच फरक फरक प्रतियोगिता गराइने आयोजकले जनाएको छ । लुक्स नेपाल इभेन्ट् एन्ड मिडियाले इभेन्ट म्यानेजमेन्ट गरेको प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने बताइन् । दाहालले शैक्षिक गुणस्तरमा वृद्धिसँगै विद्यालय तहमा खेलकुदको समेत विकास हुनुपर्नेमा जोड दिइन् । महानगरपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै रंगशाला निर्माणको कामलाई तीव्रता दिइरहेको दाहालको भनाइ छ ।
पढाईका अतिरिक्त खेलकुदमा समेत भाग लिने विद्यार्थीहरुको चौतर्फी विकासमा मद्दत पुग्ने उल्लेख गर्दै दाहालले खेल क्षेत्रमा लागेर सफल हुने व्यक्तिको भविष्य उज्ज्वल भएको बताइन् । कार्यक्रममा भरतपुर वडा नम्बर ५ का अध्यक्ष पदमपाणि सुवेदीले खेलकुदमा लाग्न चाहने विद्यार्थीहरुलाई उनीहरुका अभिभावकले प्रोत्साहन गर्नुपर्ने बताए । स्मल हेभन स्कुलका प्रिन्सिपल प्रसान्तकुमार नेपालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा भाइस प्रिन्सिपल गणेश थापाले स्वागत मन्तव्य राखेका थिए ।