पूर्वी चितवनमा छैठौं खिचरा महोत्सवको तयारी तीव्र, रक्षामन्त्री ईश्वर पोख्रेलले उद्धघाटन गर्ने (भिडियो)

 

चितवन,२१ पुस । पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन परिसरमा पुस २८ गतेबाट माघ ७ गतेसम्म सुरू हुने खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ चितवनले शनिबार (आज) पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको लागि आवश्यक पर्ने आन्तरिक तथा बाह्य तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । महोत्सवअन्र्तगत स्टल निर्माण र प्रचारप्रसारको काम भइरहेको छ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष हुने खिचरा महोत्सव यस पटक छैठों संस्करण हो ।
थारुहरुको विशेष पर्व माघीको अवसर पारेर खैरहनी नगरपालिका ५ गौचरनको परिसरमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा थारूका पहिचान झल्कने भेष भुषा सहित विभिन्न संस्कृतिक पहिचान एवम् परम्परागत सामाग्रीहरु प्रदर्शन गरिने महोत्सव मूल संयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिनुभयो ।
उहाले महोत्सवमा थारु खानाका परिकारसँगै परम्परागत सामग्री माछामार्ने जाल, ढडिया, कोहिनी, बेहोरी, घेवरी, पेदाहा, खराउ, ढकना, माटोको डुहुरीलगायतका सामग्री प्रदर्शनीमा राखिने जानकारी दिए ।
यस पटक १५० वटा व्यवसायिक स्टल, २२ वटा थारुका खानाका परिकार र १८ वटा थारू संस्कृतिसँग जोडिएका स्टल गरी एक सय २०० वटा स्टलहरु राखिने छ ।

यस वर्षको महोत्सवमा थप आकर्षकको रुपमा थारु मिनि गाउँ अवलोकन, आँखामा पट्टि बाधेर हाँस समाउने प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्लो साईकल रेश, भेटरान दौड, डुंगा सयर लगाएतका कार्यक्रमहरु रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा बाल उद्यानलगायत मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानाकारी दिए ।
महोत्सवमा मनोज महत्तो, सन्जय चौधरी, श्रीनिवास चौधरी, अनु चौधरी, अमितसिंह चौधरी, रोहितसिंह चौधरी, नरेश जोगी, निकिता मण्डल थारु, आर के चौधरी ¥यापर लगायतका थारु कलाकारहरुको सहभागिता रहेन उहाले बताए ।
राष्ट्रिय कलाकार तर्फ अञ्जु पन्त, दिपक बज्राचार्य, आस्था राउत, काउली बुढी, हेमन्त शर्मा, मिलन लामा, सुनिल पण्डित, अर्जुन कौशल, सुरेश लामा, अल्मोडा राना, पशुपति शर्मा रहेका छन् ।

महोत्सवको आयोजना गर्न करिव ४० लाख रूपैयाँ बराबर खर्च हुने अनुमान गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो । महोत्सव अवधिभर १ करोड बरावरको कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सव अवलोकनको लागि १ लाखसम्म दर्शकहरु भित्राउने लक्ष्य रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिनुभयो । महोत्सवबाट आम्दानी भएको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरी अध्ययनमा प्रोत्साहित गर्ने उहाँको भनाइ छ ।
महोत्सव अवलोकनका लागि ५० रूपैयाँ टिकट शुल्क लाग्ने छ भने विद्यार्थीहरुका लागि (परिचय पत्रका आधारमा) रु ३० कायम गरिएको जनाइएको छ । माघ ७ गते सम्म चल्ने महोत्सवको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्धघाटन गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published.