अनलाईन मार्फत खानेपानीको महसुल भुक्तानी

चितवन २३ पुस । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कार्य सम्पादनको नयाँ प्रविधिको प्रयोगलाई जोड दिएको छ । प्रविधिको प्रयोग गर्ने क्रममा उसले अनलाईन मार्फत खानेपानीको महसुल वुझाउने व्यवस्था मिलाएको छ । सो संस्थाले सोमवारदेखी अनलाईन सेवा मार्फत महसुल वुझाउन सकिने व्यवस्था मिलाएको हो । यो सेवा सुरुवातसंगै अव घरमै वसेर ग्राहकहरुले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् । ग्राहकहरुको समय,लाईन वस्नु पर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उदेश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए । सोमवार एक कार्यक्रमका बीच अनलाईन सेवा सुभारम्भ गरिएको हो । सो सेवाका लागि खानेपानी संस्थाले दियालो टेक्नोलोजीसंग सहकार्य गरिएको छ । महसुल तिर्नका लागि मोवाईलको इसेवामा गई आईडी र पासवर्ड लग इन गरी खानेपानी अंकित चिन्हमा गई क्लीक गरी खानेपानी काउन्टरमा रत्ननगर खानेपानी छान्नु पर्छ ,त्यसपछि ग्राहक नम्वर राखेर प्रक्रिया अगाडी वढाउनु पर्दछ । खानेपानी संस्थाले रत्ननगरको वडा नम्वर ६ र ७ वाहेक अन्य सवै वडामा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ । ७संस्थाका अध्यक्ष पौडेलका अनुसार यस संस्थाको ६ हजार ७ सय ग्राहक रहेका छन् । दैनिक ५४ लाख लिटर शुद्ध खानेपानी संस्थाबाट खपत हुदै आएको छ । नगर भित्र प्रत्येक घरधुरीमा शुद्धखानेपानीको पौच पुर्याउन विपन्न,दलित,सुकुम्वासी,सिमान्तकृत समुदायका लागि खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको व्यवस्था समेत रहेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।