प्रचण्डले रोजेका बाटोलाई स्वागत, देश विकास गर्ने आइडिया त यस्तै चाहिन्छ

–वीरेन्द्रमणि पौडेल

यतिबेलाको नेपालका सर्वाधिक चर्चित र शक्तिशाली नेता प्रचण्ड चितवन पोष्ट दैनिकका लागि यो लेख लेख्दै गर्दा उनको चुनाव क्षेत्रवाला जिल्ला चितवनमा छन् । उसो त, उनी महिनामै कयौँपटक चितवन आउने–जाने गरिरहेका छन् । २५ गते चितवन महोत्सवमा प्रमुख अतिथिका रुपमा उपस्थित भई कार्यक्रम उद्घाटन गर्ने कार्यतालिका रहेको उनी एक–दुई दिनअघि नै अन्य कार्यक्रम उद्घाटन गर्न चितवन आएका हुन् । प्रचण्डले हिजो एकखालको राजनीतिक यात्रा तय गरेका थिए, अहिले उनले राजनीतिक गोरेटो परिवर्तन गरेका छन् । पहिले बन्दुकलाई साथी बनाएका उनले अहिले विश्वका बहुसंख्यक मानवले रूचाएको राजनीतिक व्यवस्थालाई अँगालो मारेका छन् । हुन पनि यतिबेलाको शक्तिशाली र विकसित पश्चिमा र छेउछाउका छिमेकी मुलुकहरु समेतले पछिल्लोपटक प्रचण्डले रोजेका बाटोलाई स्वागत । 

प्रचण्डले यतिबेला जनतालाई खुसी पारेर परीक्षा पास गर्ने भरमग्दुर प्रयास गरिरहेका छन् । उनले केन्द्रबाट बजेट निकासा गरेर चितवनका धेरै बाटाहरुको रुप परिवर्तन गर्दै गरेको देखिन्छ । गोरेटो बाटोलाई फराकिलो बनाउने, ग्राभेल रोडलाई कालोपत्रे बनाउने काममा उनले ध्यान दिएको देखिन्छ । उनको साथ, सहयोग, सुझाव र निर्देशन पाएरै होला भरतपुर नगरप्रमुख छोरी रेनुले पनि अरु कामलाई भन्दा बाटो निर्माणलाई मह¤व दिएकी छन् । हुन त हो, नेपालजस्तो हरेक कोणबाट पछि परेको मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पक्की र बलिया सडकहरु नै हुन्, तर पहिलेदेखिका पुराना खाँदिएर रहेका अन्य समस्याहरुको खातले गर्दा प्रचण्ड र उनकी पुत्रीको मेहनतले खासै मह¤व पाएको छैन ।

सबैभन्दा पहिला विकास के चीजलाई भन्ने र स्पष्ट परिभाषित विकासका लागि बाधक त¤वहरु के–के हुन्, ती बाधक त¤वहरुलाई कसरी हटाउने वा रुप परिवर्तन गर्ने भन्ने मह¤वपूर्ण सवाल हो, जुन सवालको उपयुक्त जवाफ प्रचण्ड वा उनकी छोरी रेनुसँग नहुन सक्छ । भौतिक विकास आफैँ हुने होइन, मान्छेले गर्ने हो । यहाँनेर नेपालको विकास नेपाली जनताको मेहनतले हुन्छ भनेर बुझ्नुपर्छ र विकास निर्माणका लागि खट्नुपर्छ भन्ने जनतालाई महसुस हुनुपर्छ, त्यसरी महसुस गराउने काम नेतृत्वले गर्नुपर्छ । तर, आजसम्म भौतिक विकासका लागि हातेमालो गर्न, बाटो, कुलो, पुल निर्माणका लागि कुटो–कोदालो बोकेर घरबाहिर निस्किन प्रचण्डले आह्वान गर्ने फुर्सद पाएका छैनन् । यो काम त्यो तरिकाले हुन नसक्दा श्रमदानमा जुट्नुपर्ने जनता दर्शकका रुपमा टोलाएर बसेका छन् । यो अवस्था परिवर्तन नगर्दासम्म आशा गरेअनुरुप परिवर्तन र विकास सम्भव हुन्न ।

प्रचण्डको निरन्तर देशका लागि अब केही गर्छु भन्ने हुटहुटी आफ्नै ठाउँमा प्रशंसनीय लाग्छ, तर काम गर्ने उपयुक्त तरिका भएन भने त्यो खालको इच्छा र हुटहुटी बेकार हुन जान्छ । जस्तो कि, उनले अब चितवनको माडीलाई “मोती” बनाउँछु भनेका छन् । मोती बनाउँछुको अर्थ पहिले पहिलेका शासकहरुले छोइछिटो र हेलाँ गरेका चितवनको माडीवासीलाई रोजगारी दिन्छु, सर्वसुलभ शिक्षा, सुरक्षा, भौतिक सुविधाको हकमा पुल, बिजुली बत्ती, खानेपानीको धारो दिन्छु, ठीक समयमा मल, बीउ दिन्छु र बिरामी जनतालाई सके निःशुल्क नसके सशुल्क भए पनि ओखती र उपचार दिन्छु भन्न खोजेका होलान् । भनाइ र संकल्प तारिफयोग्य छन्, तर यहाँभित्रका कठिनाइ र जटिलताबारे प्रचण्डले बुझ्न बाँकी रहेको देखिन्छ ।

मान्छेको जीवनमा सबैभन्दा पहिला बाँच्ने कुराको ग्यारेन्टी हुनुपर्छ । भोलिका दिनमा माडीका जनताले रेल चढ्लान् । आजसम्म इनार र कुवाको पानी खाइरहेका तिनले भोलिका दिनमा शुद्ध पानी धारामार्फत खान पाउलान् । त्यतै कतै रोजगारीका अवसरहरु पनि खोलिएलान् । आजसम्म सुत्केरी हुने अवस्थाका महिला र सर्पले टोक्दा उपचार गर्न टाढा जानुपर्ने अवस्थाको पनि अन्त्य गर्ने स्थिति सिर्जना गरिएला तर भोलि भनेको भोलि नै हो, कुरा आजकै गर्नुपर्छ । आजको कुरा यही हो कि माडीका जनता अहिले पनि “भोलिका दिनसम्म बाँच्न पाइएला वा नपाइएला”को अवस्थामा छन् ।

माडी जंगलैजंगलले चारैतिरबाट घेरिएको एउटा सानो उपत्यका आकारको जमिनको चौटो हो । चारैतिरबाट जंगली जनावरहरु रातैभरि माडीवासीको घरआँगन डुल्छन् । प्रत्येक वर्ष ठूलो संख्यामा माडीवासीको मृत्यु हात्ती आक्रमण, बाघ र गैँडा आक्रमणबाट भएको प्रमाण उपलब्ध छ । माडीवासीका मुख्य समस्या जंगली जनावर र वर्षामा खोलानालामा आउने बाढी हो । प्रचण्डले सबैभन्दा पहिला माडीवासीको जीवनरक्षा गर्नुपर्छ । जनतालाई पहिले बचाएरमात्रै तिनलाई आर्थिक र भौतिक समृद्धि दिने हो । जनता भकाभक मरिरहने, बाँच्नेहरुका लागि भोलि झिलिमिली दिन्छु भन्नु ठीक हुँदैन । फेरि प्रचण्डजस्तो डायनामिक नेताले बुझ्नैपर्ने विषय के हो भने मान्छे र जंगली जनावर सँगसँगै बस्न सक्दैनन् । संसारमै यस्तो अवस्थाको कल्पना गर्न सकिन्न । निकै लामो समयदेखि माडीका जनता र जंगली जनावरहरु सँगसँगै बसेका छन् । विश्वमानवले सुने भने के भन्लान्, हाम्रा नेपाली शासकहरुको कति बेइज्जत होला, जुन देशका शासकहरुले आफ्ना देशका जनतालाई जंगली जनावरसँगै राखेका छन् वा बस्न बाध्य तुल्याएका छन् ।

अब प्रचण्डले माडीवासीलाई यदि न्याय नै गर्ने हो भने सबैभन्दा पहिला माडीका बासिन्दालाई जगतपुर, पटिहानी र पार्वतीपुरतिर सार्नुपर्छ, जसरी पुरानो पदमपुरको गाउँ नै नयाँ पदमपुरका रुपमा सारियो र आज नयाँ पदमपुरमा बस्ने जनताको सबै खाले अवस्था परिवर्तन हुने क्रममा छ । यदि माडीको मानवबस्ती अन्य उपयुक्त स्थानमा सार्ने हो भने आजको माडीभूमिमा नेपालको झन्डै आधा जनतालाई खान पुग्ने अन्न र तरकारी उत्पादन हुन सक्छ । यो काम गर्न नसक्दा आज पनि एकातिर जनता थरथर कामेर बाँचिरहेका छन् भने खेतीयोग्य जमिनलाई उपयुक्त ढंगले प्रयोग गर्न सकिएको छैन । उसो त, प्रचण्डले मुलुकभित्र अन्न उत्पादन कम भएर छिमेकी मुलुक भारतबाट अरबौँ रूपैयाँबराबरको अन्न खरिद गरिएको जानकारी पाएकै छन् । चुनाव ताका प्रचारप्रसारको क्रममा प्रचण्डले आँखैले देखेको हुनुपर्छ कि वारिबाट पारि माडी जान जंगलको बाटो जानुपर्छ । त्यही बाटो बाघ, भालु, गैँडा, हात्ती निर्धक्क हिँड्छन् ।

जंगल जनावरको बासस्थान हो, मान्छे हिँड्ने बाटो हुन सक्दैन । तर, माडीवासी पैदल, साइकल, मोटरसाइकल र गाडाजस्ता साधनमा आतेजाते गरिरहेका छन् । फेरि पनि कल्पना गर्नुस् नेता प्रचण्ड, जंगली जनावर र मान्छे हिँड्ने बाटो संसारमा एउटै हुन सक्छ ? नेपाललाई छाडेर संसारको कुन एउटा देश छ, जहाँ जंगली जनावर र जनतालाई सँगैसँगै हिँड्न लगाइन्छ ?

हो, प्रचण्डको उद्देश्य माडीवासी, चितवनवासी र सिंगो देशवासीलाई आर्थिक र भौतिक समृद्धिमार्फत भाग्यशाली बनाउने सोच हुन सक्ला, तर काम भने बुद्धि पु¥याएरमात्रै गर्नुपर्छ । माडीका जनतालाई पहिले बचाउने, सुरक्षित तुल्याउने अनिमात्र तिनलाई थुप्रै प्रकारका सुविधाबाट सन्तुष्ट बनाउने गर्नुपर्छ । माडी त उदाहरणमात्रै हो नेता प्रचण्ड, देश विकास गर्ने आइडिया त यस्तै चाहिन्छ । अन्दाज र हचुवा पाराले देश विकास हुँदैन । एकबारको जुनीमा त्यो स्थान जुन स्थानमा तपाईं पुग्नुभएको छ, कम मान्छेमात्रै पुग्छन् । मौका पटकपटक आउँदैन भन्ने कुरा तपाईंले गोर्खा आरूघाटतिर स्कुल पढाउँदा बताउनुभएकै हो । अब बाँकी त तपाईंका अरु सल्लाहकारहरुले नै भन्नेछन् ।

(लेखक चितवनका पत्रकार हुन् ।)