नागरिक कल्याणकारी प्रतिष्ठानले कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने

 

नवलपुर, पुस २६ । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले कविवर गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।
बिहिबार जनक माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २८ गते शनिबार जनक माविमा नै कविवर विनोदीलाई नागरिक अभिनन्दन गर्नुका साथै “गोविन्दराज विनोदी ः जीवन र सृष्टि” नामक ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिनुभयो ।
सो कार्यक्रम प्राज्ञ प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा हुने उहाँले जानकारी दिनुभयो । सो अवसरमा गैंडाकोट ८ विजय विकास स्रोत केन्द्र नजिकै कवि विनोदीको निवासदेखी विहान १० बजेदेखी जनक माविसम्म शोभायात्रा पश्चात अभिनन्दन गरिने उहाँले जानकारी दिनुभयो ।
नवलपरासी र चितवनका साथै यस क्षेत्र र राष्ट्रकै एक विशिष्ट साहित्यिक, शैक्षिक, सामाजिक प्रतिभा, सन्त स्वभावका आशुकवि गोविन्दराज विनोदीका विभिन्न लेख रचना प्रकाशनमा छन् ।
२०६९ सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सिविर, विभिन्न स्रष्टाहरुको लोकोपकारी कृतिहरु प्रकाशन गर्दै आईरहेको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका पदाधिकारी सहित, साहित्यिक स्रष्टाहरु, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाट लगायत सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।