अवस्था र वासस्थान पत्ता लगाउन चरा गणना

चितवन, २७ पुष । चितवन राष्ट्रिय निकुञ्ज सहित देशभरीका सिमसार क्षेत्रहरुमा चरा गणना भइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यसका वरीपरी रहेका ताल, पोखरी र नदी तथा आसपासका खोलामा चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो ।

प्रत्येक वर्ष अंग्रेजी महिनाको जनवरी ५ देखि २० तारिकसम्म देशभरी नै चरा गणना हुने गरेको चरा विद् टिका गिरी बताउँछन् । चितवनमा नारायणी नदी, राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्जभित्रका बीस हजारी ताल, कुमाल ताल, बाटुली पोखरीलयागतका ठाउँमा चरा गणना हुने गरेको छ ।

चराको संख्या र चराको बासस्थानको बारेमा बुझ्नका लागि बर्सेनि चरा गणना हुने गरेको चरा विद् टिका गिरीले बताए ।
मानवीय कारणले गर्दा चराको वासस्थानमा संकट थपिएको गिरीको भनाइ छ । त्यस्तै निकुञ्ज भित्रका तालहरुमा पानीको मात्रा सुक्दै जानु, ताल वरीपरी फोहोर फाल्नु, संरक्षणमा स्थानीयको चासो नजानुका कारण नेपालमा चराहरु घट्ने क्रम रहेको गिरीले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा हुने चरा गणना कार्य अन्तर्गत स्थानीय प्रजातिका साथै आगन्तुक चराको समेत संख्या लिने गरिन्छ । चरा गणनाले बिगतका वर्षमा पाइएका चराको हालको अवस्थाका साथै आगन्तुक चराको अवस्थाको बारेमा बुझ्न मद्दत पुग्ने गिरीले बताए  चराहरुको गणना पछि राष्ट्रिय चरा संरक्षणमा नीति निर्माण समेत सहयोग पुग्ने  गिरी बताउँछन् ।
साइबेरियालगायत जाडो ठाउँबाट नेपालका नदी, ताल तलैया र सीमसार क्षेत्रमा हिँउद याममा पानी चराहरु आउने गरेका नेचर गाइड विमिता भण्डारी बताउँछिन् । चरा गणनाबाट निस्किएको नजिताले चराका साथै उनीहरुको बासस्थानको संरक्षणमा टेवा पुग्ने भण्डारीको बुझाइ छ । चराहरु अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटक आउँदा यहाँको पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयको आर्थिक उपार्जनमा समेत टेवा पुग्ने भण्डारीको भनाइ छ ।
विश्वमा सन् १९६७ देखि सुरु भएको चरा गणना चितवन सहित देशका विभिन्न भागमा सन् १९८७ देखि सुरु भएको थियो । मानवीय लापवाहीका कारण वासस्थानमा परेको असरले चरा संकटमा परेकोे संरक्षणकर्मीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.