मुलुकी संहिताबारे भरतपुरमा छलफल

चितवन, २६ पुष । भदौ १ गतेदेखि लागू भएको देवानी र फौजदारी संहिताबारे चितवनको भरतपुरमा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा मुलुकी संहितामा खोजेका विषयवस्तुहरु भेटाउन गाह्रो भएको कानुन व्यवसायीहरुले बताएका छन् । कानुनका कतिपय दफाहरुमा त्रुटी भेटिएको, महत्वपूर्ण बुँदाहरु हटाइएको उल्लेख गर्दै कानुन व्यवसायीहरुले देवानी फौजदारी संहितालाई व्यवस्थित बनाउनुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले सो संहिता संशोधनका लागि अर्को विधेयक ल्याउने तयारी भइरहेकाले छुटेका विषयवस्तुहरु समावेश हुने बताए ।
पहिलेको मुलुकी ऐनमा भएका भन्दा धेरै राम्रा विषयवस्तुहरु मुलुकी संहितामा समावेश गरिएको उल्लेख गर्दै गौतमले अब भ्रष्टाचार गरेका व्यक्ति, बलात्कार जस्ता जघन्य अपराधमा संलग्न व्यक्ति कानुनी त्रुटीका कारणमा उम्किन नसक्ने बताए ।
सो अन्तरक्रियामा चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माले संहिता सबैले अध्ययन गर्नु जरुरी रहेको उल्लेख गर्दै यसले सबैलाई फाइदा पुग्ने बताए । म्याच फिक्सिङ, आत्महत्या गर्न उक्साउनेलाई कारबाही जस्ता विषयवस्तु नयाँ संहिताले थप गरेकाले अब अपराध गरेर उन्मुक्ति पाउने अवस्था नरहेको शर्माको भनाइ छ ।
अन्तरक्रियामा चितवनका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका उपप्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.