चितवन युवा समुह अन्तराष्ट्रिय  समितिद्धारा मृर्गौला पीडित सुमनलाई आर्थिक सहयोग

चितवन २७ पुस । दुबै मृर्गौला फेल भएर काठमाडौंमा उपचार गराइरहेका सुमन परियारलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन । युएईमा काम गर्दागर्दै गत कार्तिक महिनामा सुमनको दुबै मृगौला फेल भएको थियो ।

रत्ननगर २ टाँडी निवासी सुमनको उपचारको लागि प्रवासी नेपालीहरुको संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिले सुमनको उपचारको लागि ७० हजार रुपैया सहयोग गरेको हो ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिति वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फा परियारलाई ७० हजारको चेक हस्तान्तरण गरेका थिए । सो अबसरमा समन्वय समितिका अध्यक्ष अधिकारीले वैदेशिक रोजगारीको लागि युएईमा रहेका प्रवासी नेपालीहरुबाट संकलित रकम मृर्गौला पीडित सुमनको उपचारका लागि सहयोग गरेको बताए ।

उनले समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताए । समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल,उपाध्यक्ष कविता ढकाल,कोषाध्यक्ष सीता ढकाल,चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे,सल्लाहकार प्रविण विक,रामु पौडेल,आजीवन सदस्य तथा लोक गायक नेत्रजी पन्त,समन्वय समितिका गलफ संयोजक श्याम पोखरेल लगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो । युएईमा आर्थिक संकलनको लागि ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो ।

यही पुस ५ गते मात्र नेपाल आएका सुमनको अहिले भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ । सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले योजना बनाएका छन । सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ ।