माडीमा पहिलो पटक स्नाकोत्तर तहको पढाइ हुने

 

चितवन पुस २७ । चितवनको माडीमा पहिलो पटक स्नाकोत्तर तहको अध्यापन हुने भएको छ । स्नातकसम्म अध्ययन/अध्यापन गराउँदै आएको माडी क्याम्पसले यसै वर्षबाट स्नातकोत्तरको अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विद्यालयका निमित्त क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले जानकारी दिनुभयो । “तीन विषय नेपाली, अङ्ग्रेजी र जनसङ्ख्या अध्यापनका लागि आवेदन दिएका हौँ”, गौतमले भन्नुभयो, यिनै विषय अध्ययनका लागि तयारी गरेका छौँ ।” उहाँले स्नाकोत्तर अध्ययन माडीमै हुने भएपछि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।

क्याम्पसले स्नातक तहमा व्यवस्थापन सङ्कायमा बिबिएस र शिक्षा सङ्कायमा नेपाली, अङ्ग्रेजी र जनसङ्ख्याको अध्ययन गराउँदै आएको छ । माडीमा यसै वर्षदेखि दीवाकर स्मृति प्राविधिक शिक्षालय पनि स्थापना गरिएको छ । सिभिल इञ्जिनीयरिङ र भेटनरीको अध्यापन यसै वर्षदेखि शुरु गरिएको छ भने आगामी वर्षदेखि फार्मेसी कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिँदै आएको बताउनुभयो । गाउँमै रोजगार प्रदान गर्ने खालको शिक्षा नगरवासीलाई प्रदान गर्नेगरी शैक्षिक योजना निर्माण गरिएको उहाँको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published.