राष्ट्रिय आवश्यकता अनुसारको शिक्षामा जोड

चितवन, २७ पुष । समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा राष्ट्रिय आवश्यकता अनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
१२औँ चितवन महोत्सवको अवसर पारेर शुक्रबार नारायणगढमा आयोजना गरिएको चितवनको समग्र शैक्षिक परिदृश्य विषयक गोष्ठीमा सहभागीहरुले अबको शिक्षा प्राविधिक हुनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रमुख सल्लाहकार जगन्नाथ थपलियाले मुलुकको आवश्यकताको पहिचान गरि सोही अनुसारको शिक्षा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा थपलियाले सरकारले लगानी गरेका उच्च शिक्षाका कतिपय विषयहरुमा विद्यार्थीहरुको आकर्षण हराएको उल्लेख गर्दै व्यवसायिक शिक्षामा लगानी गर्नुपर्ने बताए ।
राष्ट्रिय आवश्यकता अनुसारको शिक्षा प्रदान गर्न सरकारले त्यसै अनुरुपको नीति नियम बनाउनुपर्ने थपलियाको भनाइ छ । कार्यक्रममा कार्यपत्र प्रस्तु गर्दै ईन्जिनियर हरि भण्डारीले हालको अवस्थामा स्नातक गर्ने विद्यार्थीहरुमा १८ प्रतिशत मात्रै प्राविधिक शिक्षाको हुने गरेकोमा यसको प्रतिशत बढाउनुपर्ने बताए । ७० प्रतिशत प्राविधिक शिक्षा र बाँकी अन्य शिक्षा प्रदान गरेमा मात्रै राष्ट्रको विकास हुने भण्डारीले बताए ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख दीपेन्द्र सुवेदी, डाक्टर ध्रुवराज पोखरेलले एकेडेमी र इन्डष्ट्री तथा सामुदायिक र संस्थागत विद्यालयको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उद्यो वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुख अतिथि रहेका थिए ।