विविध कार्यक्रम सहित राष्ट्रिय एकता दिवस मनाइयो

चितवन, २७ पुष । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ ।
यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाइएको छ । पृथ्वी जयन्तीका अवसरमा चितवनको भरतपुरमा वृहत ¥याली तथा जनसभा गरिएको छ । भरतपुरको चौबिसकोठीबाट निस्किएको बाजागाजा सहितको ¥याली वीरेन्द्र क्याम्पस गेट, लायन्सचोक, सहिदचोक पुगेर पुनः चौबिसकोठी हुँदै गेष्ट हाउस चौर पुगेको थियो । गेष्ट हाउस चौरमा पुगेर सभामा परिणत भएपछि कार्यक्रममा सहभागीहरुले राज्यले पृथ्वीनारायण शाहको योगदानलाई भुलेको आरोप लगाए ।
ससाना राज्यमा विभाजित भएको नेपाललाई एकीकरण गर्दै एउटा सिंगो नेपालको जग बसालेका राष्ट्रपिता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् । यसैबीच, प्रदेश ५ को नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख डा.धवल शम्शेर राणाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.