अष्ट्रेलिया विद्यार्थी प्रकरणः कन्सल्टेन्सीमाथि कारवाही नहुने छनक

 

काठमाडौं, २९ फागुन । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीका अभिभावक र विद्यार्थीले सरकारी समितिमा कुनै उजुरी नदिएकाले कन्सल्टेन्सीलाई के कारबाही गर्ने भन्ने विषय अन्यौलमा परेको छ । अष्ट्रेलियास्थित एआइबिटी कलेजमा नर्सिङ विषय अध्ययनरत विद्यार्थीको अन्तिम सत्र पुरा हुनु अगावै अष्ट्रेलियन सरकारले सो कलेज बन्द गराएको कारण नेपाली बिद्यार्थी अलपत्र परेका थिए ।

कलेज बन्द भएपछि अलपत्र विद्यार्थीले कन्सल्टेन्सीलाई कारबाही गर्न माग गर्दैै संचारमाध्यमसमेत गुहारेका थिए । मन्त्रालयद्धारा गठित समितिले पिडीत विद्यार्थी र आफन्तलाई उजुरी दिन आब्हान गरेको थियो । तर कुनै पनि विद्यार्थीले उजुरी नदिएको कारण कस्लाई के कारवाही गर्ने भन्ने विषय खुलेको छैन ।

शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव देवकुमारी गुरागाइँको संयोजकत्वमा गठित समितिले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई प्रतिवेदन बुझाएको थियो ।

तर सो प्रतिवेदन सार्वजनिक गरिएको छैन । एउटा मात्रै प्रतिवेदन भएकोले मन्त्रीले कार्यान्वयन गर्नुस भन्दै सचिवलाई उपलब्ध गराएको कारण सो प्रतिवेदनको विषयमा मन्त्रालयका कुनैपनि अधिकारीलाई जानकारी छैन ।

समितिले इक्यान, आइरिन, फेकन र नायर संस्थाका अध्यक्षसंग पिडित विद्यार्थीको तथ्याङ माग गरेको थियो । कन्सल्टेन्सीले ७ सय ४३ विद्यार्थी अलपत्र परेको उल्लेख गरेतापनि २ सय ४४ जनाको मात्र नाम उपलब्ध गराएका थिए ।
प्रचार गरिए भन्दापिडित विद्यार्थीको संख्या कम भएपछि समिति आफै अलमल्ल परेको छ । एआइबिटीले नेपालमा आफ्ना ४ सय ६० एजेन्ट रहेको उल्लेख गरेपनि ७५ जनाले मात्रै विद्यार्थी पठाएको उल्लेख छ । कलेजको वेवसाइटमा भन्दा पनि कम कन्सल्टेन्सीले विद्यार्थी पठाएको विषयमा मन्त्रालयले पुन छानविन गर्ने तयारी गरेको छ । समाचार नेपाल समाचार पत्र दैनिकले प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published.