विष्ट र अंगुर जीसीविरुद्ध पक्राउ पुर्जी जारी, सीके राउतले बोलाए बैठक

काठमाडौं,१ चैत । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गतिविधिलाई आपराधिक तथा विध्वंशकारी ठहर गर्दै प्रचलित कानूनबमोजिम कार्वाही गर्ने भएको छ । उक्त समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुने वा सहयोग पु¥याउने व्यक्ति, संस्था वा समूहलाई समेत कानूनी दायरामा ल्याउने निर्णय गरेको हो ।

विभिन्न मितिमा भएको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समूहले मूलधारको राजनीतिक गतिविधि नभई आफ्नै अभीष्ट पूरा गर्ने सङ्गठित प्रकारका आपराधिक गतिविधि सञ्चालन गरेकाले प्रतिबन्ध लगाइएको उल्लेख गरे ।
बाँस्कोटाले पछिल्लो समय देशको विभिन्न स्थानमा उक्त समूहको हिंसात्मक र विध्वंशात्मक क्रियाकलाप बढ्दै गइरहेकाले त्यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न सरकारले निर्णय लिएको उल्लेख गरे ।

विप्लव नेतृत्वको नेकपाले आतङ्कवादी शैलीमा मुलुकका विभिन्न स्थानमा सङ्गठित रुपमा आपराधिक तथा विध्वंशात्मक कार्य गर्दै आएको र निर्दोष नागरिकको हत्या गर्ने, बम विस्फोट, आगजनी गर्ने, जबर्जस्ती रकम सङ्कलन, अपहरण गर्ने तथा दूरसञ्चार र जलविद्युत निर्माणजस्ता अतिसंवेदनशील पूर्वाधारमा क्षति पु¥याउने, जनजीवनलाई आतङ्कित पार्ने तथा सर्वसाधारणलाई त्रसित बनाएकाले सरकारले गतिविधि नियन्त्रणका लागि कदम चालेको हो ।

मन्त्री बाँस्कोटाले केही समयअघि विप्लव समूहले दूरसञ्चारजस्तो अत्यावश्यकीय सेवालाई अवरोध गर्ने, सञ्चारका टावरमा बम विस्फोट र आगजनी गरी भौतिक संरचना ध्वस्त पार्ने तथा जनजीवनलाई त्रसित पार्ने कार्य गर्दै आएकाले जनताको जीउधन र लोकतान्त्रिक अधिकार, स्वतन्त्रताको संरक्षण र प्रवद्र्धन गरी मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने तथा संवैधानिक दायित्व र जिम्मेवारी पूरा गर्न सरकारले कानूनबमोजिम कारवाही गर्ने उल्लेख गरे ।
यता गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले सार्वजनिक सूचना प्रकाशित गरी कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही कसैले त्यस्तो अवैध हतियार भएमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

सीके राउतले बोलाए बैठक
‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका छन् ।

आगामी चैत ४ र ५ गतेका लागि जनकपुरमा राष्ट्रिय परिषद् बैठक बोलाइएको गठबन्धनका एक शीर्ष नेताले बताए ।
बैठकमा सरकारसँग भएको सम्झौताबारे छलफल हुनेछ । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका २०–२२ वटा जिल्ला संगठन संयोजक लगायत हरेक जिल्लाबाट ४–५ जनालाई सहभागी गराइने जनाइएको छ ।
गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दिपक शाह रहेका छन् ।
विष्टविरुद्ध पक्राउ पुर्जी जारी
निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जिसीलाई पक्रन जिल्ला अदालत कञ्चनपुरले पुर्जी जारी गरेको छ । सोही क्रममा मुद्दा लागेका अन्य छ जना भने धरौटीमा छुटेका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जना डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश गरेको हो । आदेशपछि उनीहरु बिहीबार नै छुटिसकेका छन् ।

बन्दको आंशिक प्रभाव
सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण बिहीबार देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार नवलपरासी र मकवानपुरमा ट्रकमा तोडफोड भएको छ । नवलपरासी, रौतहट, सिन्धुपाल्चोक र कास्कीमा शङ्कास्पद वस्तु फेला परे पनि अप्रिय घटना भएन ।
आफ्नो पक्राउ परेका कार्यकर्ताको रिहाइलगायतका माग राखेर सो पार्टीले बन्द आह्वान गरेको हो ।

कर्मचारी समायोजन
सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी दिए । उनका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ ।

समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अब करीब १८ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका छन् ।

शुक्रबारदेखि बेरोजगार सूचीकरण
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

किमको हत्या आरोपी भियतनामीलाई रिहा गर्न अस्वीकार
उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा रहेकी भियतनामकी महिला तत्काल रिहा नहुने भएकी छन् ।

भियतनामी महिला डोन थि हौङलाई रिहा गर्न आग्रहसहित दर्ता गरिएको निवेदनको जवाफमा अदालतका अधिकारीहरुले रिहा गर्न अस्वीकार गरेका हुन् ।

उही मुद्धामा उनीसँगै थुनामा रहेकी अर्की इन्डोनेसियाकी एक महिलालाई गत सोमबार रिहा गरिएको भएपनि भियतनामी महिलालाई भने रिहा नगरिने भएको हो ।

आफुलाई रिहा नगर्ने अदालतको घोषणापछि ती महिलाको मुद्धाले निरन्तरता पाउने भएको छ ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भिएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा हौङ र अर्की इन्डोनेसियाकी महिला सिती अल्स्यानलाई थुनामा राखिएको थियो । लोकान्तरबाट साभार

Leave a Reply

Your email address will not be published.