ओझेलमा चौकी डाडामा रहेको ऐतिहासिक खाल्डो

तूमान गुरुङ
चितवन, ३ चैत । बाइसे–चौबिसे राज्यको पालामा आफू सुरक्षित बस्नका लागि सेनाले बनाएको खाल्डो संरक्षणप्रति सरकारी निकाय मौन छ । प्रचारप्रसार पनि छैन, जसले गर्दा उक्त खाल्डो ओझेलमा छ ।

भरतपुर महानगरपालिका वार्ड नं। २९ कविलासको चौकीडाँडामा अहिले पनि बाइसे–चौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक दरबार छ । स्थानीयका अनुसार त्यही दरबारको सुरक्षाका लागि बस्ने फौजीले दुश्मनबाट बच्नका लागि चौकीडाँडा क्षेत्रमा मात्रै ६ वटा ठूला–ठूला खाल्डो खनेका हुन् ।

‘त्यतिबेला दुश्मनले तोप हानेर डाँडै ध्वस्त पाथ्र्यो रे’, स्थानीय वृद्ध भक्तमान गुरूङ भन्छन्, ‘त्यसैले, फौजीले आफ्नो जत्थाको सुरक्षाका लागि खाल्डो खनेका हुन् भन्ने किंवदन्ती छ ।’ तर, ऐतिहासिक खाल्डो भए पनि संरक्षणमा सरकारको ध्यान नपुगेको उनी बताउँछन् ।

गाउँमा खानेपानीको समस्या छ । हिउँद लागेपछि वस्तुभाउले पानी पिउनै नपाउने समस्या छ । त्यसैले, वस्तुभाउलाई खुवाउन र तरकारीमा लगाउनका लागि भनेर गाउँलेले वर्षायाममा परेको पानी डो¥याएर उक्त खाल्डोमा जम्मा पार्ने प्रयास पनि गरे । ‘तर, पानी नै बसेन’, स्थानीय गुरूङ भन्छन्, ‘धेरैपटक प्रयास गरे पनि पानी संकलन भएन ।’ तर, स्थानीयस्तरबाटै ती खाल्डोको संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ । स्थानीय सरकारबाट साथ नपाउँदा संकटमा परेको उनको भनाइ छ ।

साविकको कविलास गाविसलाई भरतपुर महानगरपालिकामा समायोजन गरेर महानगरको २९ नं वडा बनाएपछि यसको संरक्षण गर्ने जिम्मा महानगरको हो ।

‘तर, अहिलेसम्म ती खाल्डोहरुबारे महानगर अनभिज्ञ छ’, स्थानीय गुरूङ भन्छन्, ‘हामीले यसबारे वडा र महानगरमा पनि पटकपटक जानकारी गराएका छौँ, तैपनि खासै चासो दिएको पाइएन ।’ स्थानीय सरकारले ६ वटै खाल्डोको संरक्षण गरे पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

गाउँबाट सहजै हिमाल देख्न सकिने, तनहुँको छिम्केश्वरी डाँडा, नारायणगढ बजार, भरतपुर, देवघाट, गैँडाकोटलगायतका स्थानसमेत प्रत्यक्ष देख्न सकिने हुँदा गाउँलाई नै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नु आवश्यक रहेको स्थानीयको भनाइ छ ।

ती खाल्डो संरक्षण गर्न सके पर्यटक विकासमा झनै टेवा पुग्ने राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चीजकुमार श्रेष्ठ बताउँछन् । ‘महानगरपालिकाको २९ नं वडामा यस्ता गन्तव्य धेरै छन्’, उनी भन्छन्, ‘महानगरले त्यस्ता क्षेत्रहरुको पहिचान गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्नुपर्छ ।’

एउटा विकासको कामले अर्को विकासको काम गर्न सजिलो बनाउने हुँदा यसबारे महानगर गम्भीर हुनु आवश्यक रहेको उनको भनाइ छ । मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटरको दूरीमा रहे पनि भौगोलिक विकटतासँगै स्थानीय सरकारको ध्यान नपुग्दा झनै ओझेलमा पर्दै गएको उनी बताउँछन् । चितवनपोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published.