रत्ननगरका अधिकाँस वडामा कर संकलन अभियान जारी

रत्ननगर ०३ चैत । चालु आर्थिक बर्षमा कर संकलनको लक्ष्य हासिल गर्न रत्ननगर नगरपालिकाले अधिकाँस वडामा कर संकलन अभियान जारी राखेको छ । नगरपालिकाले चालु अबमा ११ करोड राजश्व असुली गर्ने लक्ष्य राखेर सोही अनुसार बजेट विनियोजन गरेको थियो । कर संकलनको लक्ष्य हासिल गर्न जनप्रतिनिधिहरु सहित नगरवासीको घर,पसल र उद्योगहरुमा पुगेर पसल दर्ता गर्न र नविकरण गर्न आग्रह गर्ने उद्देश्यका साथ अधिकाँस वडाहरुमा घरदैलो जारी रहेको मेयर नारायण वनले बताए । कर संकलन अभियान अन्तर्गत रत्ननगरको बजार क्षेत्र अन्तर्गत पर्ने वडा नं २ मा आइतवार देखि घरदैलो सुरु गरिएको छ । वडा नं २ मा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले अभियानको उद्घाटन गरेका थिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले लक्ष्य अनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने बताइन । कार्यक्रममा वडाध्यक्ष तिलकराज शर्मा पौडेलले वडाभित्रका व्यवसायीहरु करको दायरामा आउन सुरु भइसकेको भन्दै एक महिना भित्र वाहिर रहेका व्यवसायीहरुलाई दायरामा ल्याउने बताए । अभियान अन्तर्गत वडा अध्यक्ष पौडेल सहित वडा सदस्यहरु रमा भट्टराई,राधादेवी विक,अपील अधिकारी,रामकृष्ण श्रेष्ठ,वडा सचिव,रुपबहादुर पण्डित,समाजिक परिचालिका निभा डल्लाकोटी वडाबासीको घर,पसल र उद्योगमा पुगेर व्यवसाय दर्ता गर्न र नविकरण गर्न आग्रह गर्ने कर संकलन अभियानका वडा संयोजक तथा नगर प्रबक्ता राजेन्द्र हमालले जानकारी दिए । वडा अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती लामा,कर अधिकृत डिम्वेश्वरी पौडेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.