साहित्य : ए पुरुष ! एकल होइन, सम्भोगमा विश्वास गर

प्रिय पुरुष !

तिमी र मेरो संयुक्त स्वरुप नै यो जगत हो । तिमी र म मध्ये एक नहुने हो भने यो श्रृष्टिको प्रादुर्भाव नै हुँदैनथ्यो ।  ‘हामी छौं र यो संसार छ’ भनेर गर्वका साथ भन्न सक्छौं । परिभाषित गर्नेले तिमीलाई चेतनरुप ‘पुरुष’ र मलाई स्थुलरुप ‘शक्ति’को रुपमा परिभाषित गरेका छन् ।

मलाई यस्ता परिभाषाहरुप्रति कुनै आग्रह र ‘इन्ट्रेष्ट’ छैन । म धेरै पर–परको कुरा जान्दिँन । हिजो के भयो ? उहिल्यै कसले के भन्यो ? यसमा रुमल्लिएर पनि अर्थ छैन । भोलिको सम्भाब्यतामा घोत्लिएर पनि केही हात लाग्दैन । म बर्तमान भएर बर्तमान मै बाँच्न चाहन्छु ।

ईश्वर दाहाल

मलाई यत्ति थाहा छ, म नभएको भए तिमी पिता बन्न पाउँदैनथ्यौं । सन्तान र वंशको नाममा गर्व गर्ने आधार भेट्टाउँदैनथ्यौं । अनि तिमी नभएको भए म आमा बन्दिनथें ।

आफ्ना सन्तानलाई कहिल्यै नभेटिने असिम वात्सल्य र कहिल्यै नसिद्धिने अनन्त प्रेम गर्न पाउँदैनथेँ । म धन्य छु । तिम्रै कारण संसारकै सबैभन्दा उच्च मानवीय संवेदनाको शब्द ‘आमा’ भनेर पुकारिन पाएकी छु ।

मेरा सन्तान याने की मेरो अस्तित्वको अंशरुपले संसार हराभरा बनाएको हेर्न पाएको छु । हे पुरुष ! म तिम्रै कारणले गद्गद् छु ।
प्रिय पुरुष !
तिमी र मबीच कहिल्यै कुनै प्रतिष्पर्धा र तनाव नहुनु पर्ने हो । किनकी एक बिना अर्काे बेअर्थको छ ? एक बिना अर्काे प्राणहीन बन्छ ।

माछाले पानीलाई दुत्कार्नुको के अर्थ ? तर, खै तिमी र म अनन्तकालदेखि अनौठो दुस्मनीको कित्तामा उभिए झैं भएका छौं । आमाको गर्भ हुँदै आएका तिमी, आमाको काखबाटै जीवनको प्रस्थानबिन्दु कोरेका तिमी, आमाकै दुधबाट बाँच्ने आधार बनाएका तिमी, अनि पत्निकै अँगालोमा संसार सुख भोगेका तिमी ।

तर, तिमीले नै लेख्यौं ‘त्रिया चरित्रं पुरुषस्य भाग्यम्, देवोे न जानति कुतो मनुष्यः’ । तिमी कसरी आफ्नै आमाको चरित्र माथि शंका गर्ने भयौं ? तिमी कसरी आफ्नी आमालाई अविश्वास गर्ने भयौं ? मसँग यस्ता अनगिन्ती प्रश्न छन् ।

यी प्रश्नको उत्तर कहिले सीताले अग्नी परीक्षामा हामफाल्दै मागिन् । कहिले मन्थराले मागिन् । कहिले रोजा लग्जेम्वर्गले मागिन् ।

कहिले सिमोन दे वोआर ले मागिन् त कहिले योगमाया र क्लार जेटकिङ्गहरुले मागे । ए ! यहयात्री पुरुष, तिमीले आजसम्म पनि यसको उत्तर दिएका छैनौं । तिमी किन मौन छौं ? तिमी किन यति निष्ठुर भएको ?

प्रिय पुरुष !

यो संसार तिम्रो र मेरो अर्थात हाम्रो हो । हामी दुवैको समान श्रम, पसिना, विवेक, संघर्ष, उमंग र संयोजनको सिङ्गो रुप हो, यो जगत ।

तिमीले यहाँ जति पसिना चुहाएका छौ, मैले पनि उति नै बगाएकी छु । तिमीले जति अभिभारा बोकेर यो संसारलाई रंगीन बनाएका छौ, मैले पनि उति नै प्रेमको गंगा बगाएर सिंचित गरेकी छु ।

हेर यहाँका सद्भाव, पर्व, उत्सव, कला, साहित्य र संगीतहरुमा, जहाँ प्रेमका धारा बगेको छ । जहाँ प्रेम छ, त्यहाँ नारी हृदय छ । नारी आत्मा छ ।

समान श्रम र लगानी भएपछि उपभोग पनि बराबर हुनु पर्ने हो । तर, पुरुष ! हामी नारीले किन समान सहभागिता र उपभोग महसुस गर्न पाएका छैनौं ? किन तिमी समान—भोग अर्थात सम्भोगमा विश्वास नगर्ने भयौं ?

तिम्रो सम्भोग प्रतिको अविश्वास अर्थात एकल भोग प्रतिको झुकावले यो संसार बिरुप भएको छ । हेर त, तिम्रो अहंकारले कति बिषाक्त बन्दैछ, वातावरण ।

संसारका हरेक प्राणीको शीरमा मडारिएको अणुअस्त्रको सन्त्रास तिम्रै अंहकारको उपज होइन ? यो ठुलो कुरा भयो । हुन त तिमी ठुलै कुरा गर्न रुचाउँछौं ।

घरमा श्रीमतीलाई दासी बनाएर चोकमा नारीमुक्तिको ठुलाठुला सन्देश प्रवाह गर्नु तिम्रो सनातनि कर्म हो । पत्निले घाँस काटेर पालेको भैसीको दूध डेरीमा बेचेर त्यही आम्दानीले चिया सुक्र्याउँदै हरेक बिहान गफको महल बनाउने तिमी साना कुरा सुन्न र गर्न खासै मन पराउँदैनौं ।

तर, के गरौ,ं मैले त सानै कुरा सोच्न र गर्न मात्र जानेकी छु । सुसु गरेर बच्चाले भिजाएको सुरुवालले चिसो लाग्ला कि भन्ने पीर, तरकारीमा नुन बढी भएर स्वादिलो भएन की भन्ने चिन्ता, साँच्चै पुरुष ! म त यस्तै यस्तै साना वा झिना मसिना चिन्ता र पीर मै रुमल्लिन बाध्य छु ।

प्रिय पुरुष !

तिम्रो एकल भोग कुरुप, बिरुप र हिंश्रक समेत हुँदै गएको छ । बलात्कार के हो ? तिम्रै एकल भोगको तृष्णा होइन । यदि तिमी समान भोग अर्थात सम्भोगमा विश्वास गथ्र्याे भने कहिल्यै कसैलै बलात्कार गर्दैनथ्यो । पक्कै गर्दैनथ्यो ।

त्यसैले प्रिय ! संसार सबैको हो । सबैले बराबर भोग्न पाउनुपर्छ । एकल भोग होइन, सम्भोगमा विश्वास गर ।

Leave a Reply

Your email address will not be published.