कोरियाको चामत्कारिक विकास, नेपाललाई उदाहरण हुनसक्छ

 

हिमाल कोइराला

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले प्रत्येक सार्वजनिक कार्यक्रममा उठाउने एउटै मुद्दा हो, ‘विकास र समृद्धि’। सबैले देशलाई चाँडै समृद्ध बनाउने दाबी गरिरहँदा त्यसको ठोस कदम चाँही चालेको पाइँदैन । तर, छोटो समयमै युद्ध, अस्थिर राजनीतिबाट गुज्रिएको नेपालको असल मित्रराष्ट्र दक्षिण कोरियाले गरेको प्रगति नेपालका लागि उदाहरण बन्नसक्छ ।

दक्षिण कोरियाले गरेको आर्थिक विकासलाई नेपालले सिको गर्नसके सरकारले चलाएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान र नेताहरुले पटकपटक दोहोर्‍याउने समृद्धिको कुरा पूरा हुनसक्छ ।

नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, दक्षिण कोरिया । नेपालीको मुखबाट अझै पनि ‘कुनै समय नेपालले दक्षिण कोरियालाई सहयोग गरेको थियो’ भन्ने भनाइ सुन्न पाइन्छ । त्यो भनाइ कति सत्य छ, त्यो आफ्नो ठाउँमा छ तर, अहिलेको वास्तविकता भने नेपालबाट वर्षेनी सयौँ नेपालीहरु रोजगारीका लागि दक्षिण कोरिया जान्छन्, त्यो पनि कोरियाली भाषा सिकेर ।

दक्षिण कोरियालाई एशियाका ‘चार आर्थिक बाघ’ अर्थात ‘इकोनोमिक टाइगर्स’मध्ये एक मानिन्छ । अरु तीन चाहीँ ताइवान, हङ्कङ र सिङ्गापुर हुन् ।

सैनिक शासक पार्कले तत्कालीन अवस्थाको कृषि तथा सामन्तवादी शैलीको अर्थतन्त्रलाई व्यापक औद्योगिक अर्थतन्त्रमा विस्तार गरे । दक्षिण कोरियामा तत्कालीन अवस्थाको सस्तो श्रमलाई पूँजिकृत गरी उनले विदेशी लगानीसमेत भित्र्याउन सफल भए

हुनपनि त्यति लामो इतिहास छैन, कोरियाले प्राप्त गरेको समृद्धिको । सन् ६० को दशकको मध्यदेखि ७० को दशकको शुरुसम्म, त्यो भनेको वि.स. २०२० को दशकसम्म पनि दक्षिण कोरियाको आर्थिक-सामाजिक अवस्था नेपालको भन्दा दयनीय थियो । अहिले नेपाल र दक्षिण कोरियाको अर्थतन्त्र तुलना गर्न लायक पनि छैन । दुई देशबीचको अथतन्त्रमा आकाश जमिनको फरक छ ।

यस्तो छ कोरियाको इतिहास

सन् १९१० मा जापानले कोरियालाई आफ्नो अधिनमा लियो । त्यसपछि त्यहाँ सीमित मात्रामा जापानी औद्योगिक प्रविधि तथा पूर्वाधारको विकास भयो ।

दोश्रो विश्वयुद्धका क्रममा आफ्नो युद्ध क्षमताका लागि जापानले कोरियाबाट बृहतस्तरमा श्रोत साधनको दोहन गर्यो । दोश्रो विश्वयुद्धमा जापानको पराजयपछि सोभियत संघ र अमेरिकाको प्रभावक्षेत्रमा दुई टुक्रामा विभाजित कोरियाको आर्थिक विकास उल्लेखनीय भने थिएन ।

दोश्रो विश्वयुद्धको घाउ निको नहुँदै सन् १९५० को दशकको शुरुमा कोरियाली युद्ध भयो । कोरियाली युद्धपछि दक्षिण कोरियामा भएको सीमित अर्थतन्त्र पनि तहस नहस भयो ।

त्यसबेला दक्षिण कोरियामा स्याङम्यान रिको नेतृत्वमा सरकार थियो । स्याङम्यान रिको पालामा कोरियाली प्रायःद्विपमा राजनीतिक तथा कुटनीतिक खिँचातानीले दक्षिण कोरियाको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्न गयो ।

सन् १९६० को अन्त्यसम्म दक्षिण कोरियाको आर्थिक तथा सामाजिक अवस्था ल्याटिन अमेरिका, सब सहारन अफ्रिका तथा एशियाका गरिब मुलुकको स्तरमा थियो । त्यसबेला दक्षिण कोरियाको अवस्था नेपालको भन्दा पनि दयनीय थियो ।

अमेरिकाको समर्थनमा रहेको स्याङम्यान रिको शासन दक्षिणपन्थी तानाशाही शैलीको थियो । उनले कोरियाको आर्थिक विकास गर्ने तर्फभन्दा पनि आफ्नो ध्यान बामपन्थी तथा कम्युनिष्ट विपक्षीहरुको दमन गरी आफ्ना सत्ता मजबुत बनाउनतर्फ थियो । उनको शासनविरुद्ध व्यापाक जनप्रदर्शन बढेसँगै उनले सन् १९६० मा राजीनामा दिए ।

त्यसपछि उनको स्थानमा युन पोशुनको नेतृत्वमा दक्षिण कोरियामा सरकार बन्यो । उनको सरकार केबल १ वर्षमात्र टिक्यो । सन् १९६१ को मे १६ मा भएको ‘सैनिक कु’पछि दक्षिण कोरियाको अर्थतन्त्रले अपत्यारिलो फड्को मार्‍यो ।

औद्योगिकरण बढ्दै गएपछि दक्षिण कोरियाली श्रमिकको जीवनस्तर पनि बढ्दै गयो । यसबाट दक्षिण कोरियाली लगानीमै पनि ठूला उद्योगहरु स्थापना हुन थाले

सैनिक शासक पार्कले तत्कालिन अवस्थाको कृषि तथा सामन्तवादी शैलीको अर्थतन्त्रलाई व्यापक औद्योगिक अर्थतन्त्रमा विस्तार गरे । दक्षिण कोरियामा तत्कालिन अवस्थाको सस्तो श्रमलाई पूँजिकृत गरी उनले विदेशी लगानीसमेत भित्र्याउन सफल भए ।

उनले ट्रेड युनियन र मजदुर आन्दोलनलाई निरुत्साहित गरे । त्यसबाहेक पार्कले केन्द्रिकृत योजनामा आधारित मुलुकको आर्थिक अवस्थालाई विकेन्द्रिकृत गरे भने आर्थिक उदारीकरणलाई पनि प्रोत्साहन गरे । उनले आफ्नो शासनकालमा साना तथा मझौला उद्योगमैत्री वातावरणसमेत बनाए ।

सन् १९७९ सम्म शासन गरेका उनको शासनकालमा ‘चाइबल’ नामक पारिवारिक व्यापारिक घरानाको पनि व्यापक विकास भयो । पार्कको शासनकालमा दक्षिण कोरिया विश्वकै सबैभन्दा तीब्र गतिमा आर्थिक बृद्धि गर्ने मुलुकको सूचीमा पनि सूचिकृत भएको थियो ।

सन् १९७९ मा उनको हत्या भएपछि दक्षिण कोरियामा राजनीतिक शक्ति संघर्ष पनि बढ्दै गयो । त्यसपछि सन् १९८० मा नयाँ राष्ट्रपति बनेका चुन डु ह्वानले पनि मुलुकको शक्ति आफ्नो हातमा लिएर एकलौटी शासन अघि बढाए । सन् १९८८ सम्म दक्षिण कोरियाको सत्तामा रहेका चुन डु ह्वानको शासनकालमा पनि दक्षिण कोरिया आर्थिक क्षेत्रमा उही गतिमा अघि बढ्यो । त्यसपछिका शासकहरुले पनि दक्षिण कोरियाली आर्थतन्त्रको विकासलाई निरन्तरता दिए ।

सन् १९६० को दशकको शुरुदेखि सन् १९९० को अन्त्यसम्मको दक्षिण कोरियाली विकासलाई ‘हान नदीको चमत्कार’ नाम दिने गरिन्छ ।

१९६० सम्म दयनीय अवस्थामा रहेको दक्षिण कोरिया सन् १९९० को अन्त्यसम्म आइपुग्दा एशियाको उदयमान अर्थतन्त्रको रुपमा विकसित भइसकेको थियो । यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका भने तत्कालिन सैनिक शासक पार्क चुङ हीलाई जाने गर्छ ।

जापानसँग मिलेर सन् २००२ मा फिफा विश्वकपको आयोजना गरेको दक्षिण कोरियाले आफूलाई विश्व अर्थतन्त्रको प्रभावशाली मुलुकको रुपमा चित्रित गरिसकेको थियो । त्यसयता दक्षिण कोरियाली कम्पनीहरु सामसुङ, ह्युण्डाई, एलजी लगायले विश्वभर दक्षिण कोरियाली अर्थतन्त्रको प्रतिनिधित्व गरि नै रहेका छन् ।

समृद्धिको कारण

आखिर के कारण थियो, जसले दक्षिण कोरियालाई विश्वको महत्वपूर्ण अर्थतन्त्रको रुपमा विकास गर्यो ?

सन् १९६० को दशकयता भएको दक्षिण कोरियाको आर्थिक विकासको मुख्य कारण वैदेशिक लगानी नै हो । खासगरी अमेरिका र जापानबाट दक्षिण कोरियामा आएको वैदेशिक लगानी ।

शीतयुद्धको समयमा कोरियाली अर्थतन्त्रलाई विश्लेषण गर्दा कोरियाली प्रायःद्विपमा अमेरिका र सोभियत संघबीच प्रत्यक्ष रुपमा नै प्रतिस्पर्धा हुँदै आएको देखिन्छ । खासगरी सन् १९५४ देखि सोभियत संघको शासन सम्हालेका निकिता खुश्र्चेव विश्वभर आफ्नो प्रभाव फैलाउने दिशातर्फ अघि बढेका थिए । कोरियाली प्रायःद्विपमा पनि खुश्र्चेवले आफ्नो प्रभाव बढाउन तत्कालिन उत्तर कोरियाली शासक किम इल सुङलाई व्यापक सहयोग गरेका थिए ।

त्यसैलाई काउण्टर गर्नका लागि १९६० मा अमेरिकाले आफ्नो नीतिसमेत परिवर्तन गरी तत्कालिन समयमा तेश्रो विश्वको स्तरमा रहेको दक्षिण कोरियाजस्ता आफ्ना साझेदार मुलुकहरुमा सैनिक, राजनीतिक हस्तक्षेपभन्दा पनि आर्थिक, सामाजिक तथा सार्वजनिक सहयोगलाई जोड दियो । त्यसैका आधारमा दक्षिण कोरियामा विशाल आर्थिक लगानी बढ्दै गयो ।

सरकारले आफ्ना उद्योगलाई लक्षित गरी विभिन्न शैक्षिक तथा तालिम प्रतिष्ठानको पनि स्थापना गर्यो । यस्ता प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीहरुले समयक्रमसँगै कोरियाली अर्थतन्त्रमा योगदान दिन थाले

त्यसबाहेक त्यसबेला आर्थिक चमत्कार गरिरहेको जापानबाट पनि विशाल मात्रामा लगानी आउन थाल्यो । जापानबाट दक्षिण कोरियामा लगानी आउनुको मुख्य कारण चाहीँ दक्षिण कोरियामा त्यतिबेलाको सस्तो श्रम रहेको बताइन्छ ।

जापानले त्यतिबेला दक्षिण कोरियामा अदक्ष तथा अर्धदक्ष जनशक्तिलाई सुहाउने उद्योगहरु टेक्सटाइल निर्माण गर्ने, मोटरकारको जडान गर्ने, पानीजहाजको जडान, विद्युतीय सामग्रीको जडान गर्नेलगायतका श्रमिकमुखी उद्योग सञ्चालन गर्न थाल्यो ।

पछि, जापानी औद्योगिक प्रविधि दक्षिण कोरियाली उद्योगतर्फ स्थानान्तर भएसँगै जापानी औद्योगिक प्रविधि दक्षिण कोरियाली उद्योगमा पनि प्रयोग हुन थाल्यो ।

समयक्रमसँगै दक्षिण कोरियामा विदेशी लगानी बढेपछि परम्परागत कृषिमा निर्भर दक्षिण कोरियाको अर्थतन्त्र विस्तारै औद्योगिकरणतर्फ उन्मुख भयो ।

औद्योगिकरण बढ्दै गएपछि दक्षिण कोरियाली श्रमिकको जीवनस्तर पनि बढ्दै गयो । यसबाट दक्षिण कोरियाली लगानीमै पनि ठूला उद्योगहरु स्थापना हुन थाले ।

सरकारको भूमिका

दक्षिण कोरिया सरकारले आफ्नो मुलुकमा पेट्रोकेमिकल, स्टिल, विद्युतीय सामानलगायतलाई मुलुकका रणनीतिक उद्योग मानेर त्यसैमा लगानी बढाउने तथा त्यस्ता उद्योगलाई प्रोत्साहन गर्न थाल्यो । यसको उदाहरण दिँदा सन् १९६८ मा स्थापना भएको पोहाङ स्टिल मिललाई दिने गरिन्छ ।

सरकारले आफ्ना उद्योगलाई लक्षित गरी विभिन्न शैक्षिक तथा तालिम प्रतिष्ठानको पनि स्थापना गर्यो । यस्ता प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीहरुले समयक्रमसँगै कोरियाली अर्थतन्त्रमा योगदान दिन थाले ।

यसरी सन् १९६० को दशकमा नेपालभन्दा दयनीय अवस्थामा रहेको दक्षिण कोरियाले छोटो समयमा नै चामत्कारिक आर्थिक विकास गर्यो । दक्षिण कोरिया हाल विश्वको महत्वपूर्ण अर्थतन्त्र हो । अहिले दक्षिण कोरियाको अर्थतन्त्र चीन, जापान र भारतपछि एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा छ भने विश्वको ११ औँ ठूलो अर्थतन्त्रको रुपमा छ ।

यसरी दक्षिण कोरिया कुनै समय नेपालभन्दा गरिब भएर पनि आज हजारौँ नेपालीलाई रोजगारी दिने देश बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published.