प्रहरीको नियत सफा हुनुपर्छ : महानिरीक्षक खनाल

चितवन, २७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई असल तरिकाले नागरिकको काम गर्न निर्देशन दिएका छन् ।
प्रहरी कर्मचारीहरु असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने उल्लेख गर्दै महानिरीक्षक खनालले ठाउँ अनुसार व्यवहार गर्नसक्ने खालको प्रहरी हुनुपर्ने बताए । चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको नवनिर्मित प्रहरी व्यारेक भवनको आज उद्घाटन गर्दै खनालले नेपाल प्रहरी सबैभन्दा पहिले सज्जन, असल र इमान्दार हुनुपर्ने बताए । प्रहरीको बर्दी लगाईसकेपछि अपराध र अपराधीसँग भिड्न सक्ने गरी नियत साफ हुनुपर्नेमा खनालले जोड दिए ।
शिक्षालयले २०७२ फागुनमा सम्झौता गरेर सात करोड ७३ लाख ९७ हजार रुपैयाँको लागतमा दुई वटा पक्की भवन निर्माण सम्पन्न गरेको प्रहरी नायब उपरीक्षक इन्जिनीयर अनिल रानाले जानकारी दिए । नेपाल प्रहरीले भौतिक निर्माण गर्दै व्यवसायिक प्रहरी उत्पादनमा जोड दिएको प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेललगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.