राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम : रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि शुरु

नारायण अधिकारी

चितवन, २८ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण क्रमशः अन्य गाईमा पनि प्रत्यारोपण गरिने छ । स्थानीय वर्णशङ्कर गाई जुन नियमित ऋतु चक्रमा आउँदा उक्त भ्रुणलाई गाईको पाठेघरमा प्रत्यारोपण गरिन्छ । आचार्यका अनुसार उक्त भ्रुण अन्य सामान्य गर्भ जसरी नै परिपक्क भई निश्चित समय पुगेपछि बाच्छाबाच्छी जन्मिन्छ । यसरी जन्मिएका बाच्छाबाच्छी शुद्ध नश्लको हुने उहाँले बताउनुभयो । बाच्छा जन्मिएमा वीर्य सङ्कलनका लागि उपयोगी हुने आचायले बताउनुभयो ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोका अनुसार नेपालमा २०५८ सालदेखि भ्रुण झिकाएर प्रत्यारोपण थालिएको थियो । शुरुमा न्यूजिल्याण्डबाट एक सय दश डोज जर्सी गाईको भ्रुण झिकाइएको थियो । पछि २०७२ सालमा अमेरिकाबाट जर्सी र होलिस्टनको ५५ डोज भ्रुण झिकाइएको थियो । सोही भ्रुण हालसम्म प्रयोग गरिँर्दै आएको छ ।

यसअघि पोखरा, गोर्खा र खुमलटारमा रहेका गाईमा प्रयोग गरिएको थियो । महतोका अनुसार चितवनमा पहिलोपटक यहाँका गाईलाई भ्रुण प्रत्यारोपण गरिएको हो । भ्रुण प्रत्यारोपण गरी जन्मिएका बाच्छिबाट बढी दूध उत्पादन लिन सकिन्छ । हाल नेपालमा करीब आठ लाख मेट्रिकटन दूध अपुग भएको तथ्याङ्क छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका जैविक प्रविधि केन्द्र निर्देशक डा ईश्वरीप्रसाद कडरियाले भ्रुण प्रत्यारोपणपछि गाईमा नश्ल सुधार भई दूध बढी दिने र बाँझोपनामा न्यूनीकरण हुने बताउनुभयो । उहाँले हालसम्म भ्रुण बाहिरबाट झिकाइँदै आएकामा यही उत्पादन गर्न सकिने बताउनुभयो । उच्चस्तरका प्रयोगशाला निर्माण गरिएमा काम गर्नसक्ने वैज्ञानीक नेपालमानै रहेको कडरियाको भनाइ छ ।

रामपुरमा १६० गाई अनुसन्धानका लागि पालिएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख आचार्यका अनुसार नेपालमा हाल विभिन्न देशबाट समेत वीर्य आउने गरेको छ । पोखरामा वार्षिक ६ लाख ५० हजार डोज वीर्य उत्पादन हुँदै आएको छ । वीर्य यहीको गाईमा प्रयोग हुँदा शत प्रतिशत शुद्ध जन्मदैन भने सोझै भ्रुण प्रत्यारोपण गर्दा गाईबाट जन्मिएका बाच्छाबाच्छी शुद्ध हुने गर्दछन् । विदेशबाट हाल ल्याइएका भ्रुणमा अण्डा र शुक्रकिट दुबै त्यहीको हुने गर्दछ । यहाँको गाईको भूमिका धाईआमाको जस्तो मात्र हुने आचार्यले बताउनुभयो । हाल प्रयोग गरिएको भ्रुण अमेरिकामा गाईले साँढे खोजेपछि शुक्रकिट राखेर सात दिनपछि झिकिएको भ्रुण भएको उहाँले बताउनुभयो ।

हाल नेपालमा गाईपालनमा देखिएका विभिन्न चुनौती कम गर्नका लागि नश्ल सुधार गर्ने प्रयास हुँदै आएको छ । बहर व्यवस्थापन, अनुत्पादक गाईको व्यवस्थापन र रोगी बुढी गाईको व्यवस्थापन अहिलेका मुख्य चुनौती हुन । कृतिम गर्भाधान सेवाका साथै उक्त वीर्यलाई लिङ्ग पहिचान सहितको वीर्य उत्पादन गर्ने लक्ष्य रहेको आचार्यले बताउनुभयो । यसको प्रयोगले कृतिम गर्भाधान गरेपछि बाच्छी मात्रै जन्मने गर्दछ । आचार्यले नेपालमानै भ्रुण उत्पादन गर्नसक्ने वैज्ञानिक भएकाले सोही अनुसारको प्रयोगशाला, उपकरण र गाई फार्म व्यवस्थापन गर्न सकेमा हाल बाहिरिएको ठूलो रकम रोक्न सकिने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published.