मानव बेचबिखन विरुद्ध यातायातकर्मीसँग अन्तरक्रिया

चितवन, २८ फागुन । माइती नेपाल क्षेत्रीय कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउन यातायातकर्मीहरुलाई लक्षित गरी सचेतना कार्यक्रम गरेको छ ।
मंगलबार क्षेत्रपुरमा रहेको माइती नेपालका कार्यालयमा यातायातकर्मीहरुलाई मानव बेचबिखन सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो । सार्वजनिक सवारीका साधनहरुमा राखेर सीमापारी मानव बेचबिखन हुने गरेकाले यसको रोकथामका लागि यातायातकर्मीसँग अन्तरक्रिया गरिएको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिए । दलालहरुले मानव तस्करका लागि सार्वजनिक सवारी साधन प्रयोग गरिरहेकाले यसबारे यातायातकर्मी सचेत हुनुपर्ने गिरीको भनाइ छ ।
सवारी साधनमा यात्रुहरुको व्यवहार र उनीहरुको हाउभाउका आधारमा समेत मानव तस्करलाई पक्राउ गर्न सकिने भन्दै गिरीले संकास्पद व्यक्तिहरु भेटिएमा सुरक्षा निकाय तथा माइती नेपालको हेल्प लाइन नम्बरमा फोन गर्न आग्रह गरे । मानव तस्करहरु सवारी साधनमा यात्रा गर्दै गरेको जानकारी पाएमा उनीहरुलाई तुरुन्त पक्राउ गर्ने तथा पीडितलाई उद्धार गरिने गिरीको भनाइ छ । पछिल्लो समय चितवनको बाटो हुँदै मानव बेचबिखन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.