प्रहरी मेरो साथी

प्रहरी शब्द आउने बित्तिकै प्रहरीले मानिसहरुमा अपराधसँग सम्बन्धित मान्छेहरुसँग मात्रै सम्बन्ध राख्छ र उसले गर्ने काम भनेकै कमीकमजोरी गर्नेलाई समाउने कारबाही गर्ने र दण्ड सजायका लागि अदालत समक्ष पेश गर्ने भन्ने मानसिकतामा आइहाल्छ । अझै देशमा चलेको लामो समयको सशस्त्र द्वन्द्वका बेला तर्सिएका आम सर्वसाधारणको मानसिकतामा त्यती बेलाको चित्रण ताजा छ । जुन युद्ध ब्यहोरेको पुस्ताको समाप्तीपछि मात्रै त्यो त्रासको तस्बिर मेटिन्छ । प्रहरी हामीले सोचेको जस्तो संगत नै गर्न नहुने संगठन होईन । खराब मानिसहरुका लागि प्रहरी एउटा शत्रु होला तर असल मान्छेहरुका लागि प्रहरी राम्रो साथी पनि हो । शान्ति सुरक्षा, अपराध न्यूनीकरण र रोकथामको प्रमुख जिम्मेवारी प्राप्त गरेको प्रहरी संगठनका गतिविधि नागरिककै शान्ति सुरक्षाको लागि हुने गरेका छन् । आम नागरिकले यो कुरा बुझ्नु आवश्यक छ ।
आम मानिसहरुको मानसिकतामा भने प्रहरीसँग टाढा रहनुपर्ने, जोगिनुपर्ने र प्रहरीसँग डराउनु पर्ने भ्रम छ । यसलाई कम गर्नका लागि प्रहरी र नागरिकबीचको दुरी कम गर्न आवश्यक छ । प्रहरीले गर्ने काम नागरिकको हितमा हो भन्ने बुझाई नहुँदा समय–समयमा प्रहरी र नागरिकबीच द्वन्द पनि सृजना हुने गरेको छ । जुन चेतनाको अभावमा हुने कुरा हो । नागरिकसँगको निकट सम्बन्धबाट मात्रै प्रहरीका काम अपेक्षाकृत सफलता हुने निष्कर्षमा पुगेको प्रहरी संगठनले समय–समयमा सर्वसाधारणसँग निकट हुने कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय देशव्यापी रुपमा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रहरी र नागरिकबीचमा रहेको दुरी कम गर्ने एउटा गतिलो माध्यम हुन सक्छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी र विद्यार्थीबीचको दुरी काम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग एकदिन अभियान चलायो जसका कारण सानो उमेरका विद्यार्थीहरुले प्रहरीका कामहरुको विषयमा जानकारी पाए ।
बालबालिकाको बीचमा बसेर प्रहरीले आफ्ना काम र नागरिकको सुरक्षाका विषयमा गरेका कुराकानीले बाल मस्तिष्कमा रहेको प्रहरी प्रतिको नकरात्मक धारणालाई कम गर्दै सहयोगी भावनाको विकास गर्ने कुरामा शंका छैन । स–साना बालबालिकालाई तर्साउनका लागि आज पनि हामीले प्रयोग गर्ने शब्द भनेको भनेको नमाने प्रहरी बोलाउने नै हो । जसका कारण उनीहरुको मानसिकतामा कस्तो असर गरिरहेको छ भन्ने विषयमा हामीले कहिल्यै पनि हेक्का राखेनौं । प्रहरीले पछिल्लो समय चलाएको अभियान सकरात्मक छ । जुन अभियानलाई सदरमुकाम र सुगमका केही विद्यालयका बालबालिका जम्मा गरेर मात्रै होईन जिल्लाभरिका प्रतिनिधि मुलक विद्यार्थी जम्मा गर्ने र उनीहरुमार्फत सबै बालबालिकालाई प्रहरी हाम्रो साथी हो भन्ने जानकारी पु¥याउन आवश्यक छ । यसका सथै प्रहरीले सेवा प्रदान गर्दा मुस्कान सहितको सेवा प्रदान गर्न समेत आवश्यक छ ।