लगेज स्क्यानर भरतपुर विमास्थलमा आइपुग्यो , एक साता भित्रैं सञ्चालनमा आउने

चितवन, चैत्र २०  । चितवनको भरतपुर विमानस्थलमा लगेज स्क्यानर मेशिन आइपुगेको छ । विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुले सास्ती भोग्नु परेको थियो ।विमानस्थलमा आएको मेसिनलाई ‘इन्स्टल’को काम गरिनुको साथै ठेकेदारले आएर परीक्षण गरिसकेको विमानस्थल प्रमुख पवन गौतमले जानकारी दिए । गौतमका अनुसार नेपाल नागरिक उड्यन प्राधिकरणको सञ्चार तथा उड्यन साह्य विभागको टोली आएर फाइनल परीक्षण गरेपछि एक साता भित्र लगेज स्क्यानर मेशिनबाट यात्रुले सेवा पाउनेछन् ।

नेपाल नागरिक उड्यन प्राधिकरणको सञ्चार तथा उड्यन साह्य विभागले विमानस्थलमा लगेज स्क्यानरको व्यवस्था गरेको गौतमले बताए ।विभागले मेसिनका लागि ९० लाख बजेट छुट्टाएको थियो । विभागले भरतपुर र जनकपुर विमानस्थलमा स्क्यानरको व्यवस्था गरेको हो । अधिकांश ठूला बिमानस्थलमा लगेज स्क्यानर उपलब्ध भए पनि भरतपुरमा नहुँदा यात्रुहरुले समय समयमा आक्रोश पोख्दैं आएका थिए । स्क्यान मेशिन आए पछी भने विमानस्थलमा सुरक्षा जाँचका क्रममा यात्रुका झोला खोतल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

काठमाण्डौं र कतिपयको विदेशसमेत लैजान गरी समान घरबाट नै प्याक गरेका सामानहरु विमानस्थलमा चेक हुँदा यात्रुलाई पुनः मिलाउनुपर्ने झन्झट रहँदै आएको थियो ।स्क्यानर भए पछी सुरक्षा जाँचमा बस्ने प्रहरीको संख्या कम भएपनि हुन्छ । भरतपुर विमानस्थल सुरक्षामा १४ जना प्रहरी छन् । ति मध्ये २ जना प्रहरी लगेज चेकक लागि खटिएका छन् ।

भरतपुर बिमानस्थलको स्तोरान्नतीका काम चालु आर्थिक बर्षभित्रमा हुँदैछ । १२ सय मिटरको धावनमार्गलाई निर्माण गरेपछि एकपटक पनि ओभरले गरिएको छैन । बिमानस्थलका प्रमुख पवन गौत्तमका अनुसार धावनमार्ग ‘ओभर ले’ को काम चालु आर्थिक बर्षमा नै हुँदैछ । ओभरले गरेर दायाँवायाँ ग्रेडिङको काम पनि गरिने प्रमुख गौत्तमले बताए ।

भरतपुर बिमानस्थलको जहाज पार्किङ क्षेत्रलाई बढाउने तयारी भैरहेको छ । अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउछन् । ‘पाकिङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको छ, यसपटक पार्किङ एरिया थप्ने योजना छ, दुवै तर्फ गरेर ६० मिटर थप्छौं’ बिमानस्थलका प्रमुख गौत्तमले भने, एउटा हेलिप्याड छुट्टैं तयार हुन्छ, बाँकी चारबटा बिमान सजिलैंसँग अटाउने गरी पाकिङको व्यवस्थापन हुन्छ ।

धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रुपैंया लागत अनुमान गरिएको छ । यस्तैं, बिमानस्थलमा असारसम्ममा २५ सय लिटर पानी र फर्म अट्ने दमकल ल्याउने काम पनि अघि बढेको प्रमुख गौत्तमले बताए । त्यसमा २ हजार लिटर पानी र ५ सय लिटर फर्म राख्न मिल्नेछ । बिमानस्थलबाट दैनिक ५ सय यात्रु राजधानी काठमाण्डौं र पोखरा जाने गरेका छन् । भरतपुरबाट अहिले दैनिक पोखरा २ र काठमाण्डौं १० वटासम्म उडान हुने गरेको छ ।