सोमेश्वरगढीमा आजदेखि चैतेदशैं मेला सुरु

चितवन, २२ चैत । नेपाल भारत सीमावर्ती क्षेत्रमा रहेको माडी नगरपालिका वडा नम्बर ५ पर्ने सोमेश्वरगढीमाआज देखि चैतेदशैं मेला सुरु भएको छ । मेलामा आज विहानै देखी भक्तःजनहरुकोभिड लाग्न थालेका छन् ।

चैतेदशैं मेलाको तयारी स्वरुप सोमेश्वर कालीका मन्दिरमा रंगरोगन र खानेपानीको व्यवस्था देखि सम्पूर्ण तयारी पुरा भएको माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्धु पोख्रेरलले जानकारी दिनुभयो ।

सोमेश्वरगढी मेला व्यवस्थापन समिति, माडीको आयोजनामा सोमेश्वर क्षेत्रमा मेला तथा साँस्कृतिक उत्सवको आयोजना गरिएको हो ।
विहान ९ बजे सोमेश्वर कालिका भगवतीको औपचारीक पुजा गरेपछि मेला सुरु हुने उहाँले बताउनुभयो ।

सो मेला तथा साँस्कृतिक उत्सव अन्तरगत दिवा तथा रात्री भजनकीर्तन, प्राचीनकालिन सम्पदा एवं पुरातात्वीक महत्वका विभिन्न बस्तुहरुको अवलोकन, माडीसंगै चितवन उपत्यका र भारतीय क्षेत्रको दृश्यावलोकन, गुफा, ढुङ्गे डुङ्गा, पातालगंगा र सीमास्तम्भहरुको अवलोकन लगायतका विशेषता रहेको मेला आयोजक समितिका संयोजक पिताम्बर पोखरेलले जानकारी दिनुभयो । मेलास्थलमा नेपालको सशस्त्र एवं जनपद प्रहरीले सुरक्षा दिने र मेलास्थलमा मदिराजन्य पदार्थहरुको बिक्रीवितरण पूर्णतः प्रतिबन्धित रहने समेत मेला आयोजक समितिले जनाएको छ ।

मेलामा नेपालीसंगै भारतीय दर्शनार्थी र श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।
यसपटक माडीको बसन्तपुरदेखि छरछरे हुँदै सोमेश्वरगढी क्षेत्रस्थित पातालगंगा भनिने ठाउँसम्म चारचक्के गाडी चल्नसक्ने बाटो बनेका कारण सोमेश्वरगढीमा झनै धेरै दर्शनार्थीहरु पुग्ने पूजा व्यवस्थापन समितिले अपेक्षा गरेको छ ।
सोमेश्वरगढी क्षेत्रको पर्यटकिय पुर्वाधार विकासको लागि खानेपानी, शौचालय, सत्तल, सिँढी, विश्राम स्थल लगायतका संरचनाहरुको निर्माण कार्य समेत जारी रहेको माडी नगर पर्यटन विकास समितिका संयोजक पुरन महतोले बताउनुभयो ।