वन संरक्षणपछि कुमरोज वनको पर्यटक घुमाएरै २ करोड बढी आम्दानी

 

चितवन २९ चैत्र । पूर्वी चितवनको खैरहनीमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवाबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कुमरोजले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो ।
सौराहा आउने पर्यटकको रोजाइमा कुमरोज क्षेत्र परेपछि पर्यटकीय गतिविधि बढिरहेको छ ।

आज भएको १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले भ्रमण गरेको तथ्याङ्क सार्बजनिक गरेको हो ।
गत पुस मसान्तसम्म नेपाली पर्यटकबाट प्रवेश शुल्कबापत १ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष नेपाली पर्यटकबाट प्रवेश शुल्कबापत ७० हजार मात्र संकलन भएको थियो ।

चालू आर्थिक वर्षको पुसमसान्तसम्म जिप सफारीबाट १ करोड ४० लाख १७ हजार ३ सय ५० रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष १ करोड ३२ लाख ३३ हजार ८ सय ५० रुपैयाँ मात्र संकलन भएको थियो । आर्थिक वर्ष ७३÷७४ मा जिप सफारीबाट ३० लाख मात्र आम्दानी भएको थियो ।

कुमरोजमा हात्ती प्रवेश टिकट बिक्रीबाट साउनदेखि पुससम्ममा ५ लाख ८४ हजार संकलन भएको छ । गत वर्ष ५ लाख ५९ हजार २ सय रकम संकलन भएको थियो ।

मचानमा बसेर मनोरञ्जन लिनेमा नेपाली नै बढी छन् । मचान टिकटबाट गत वर्ष नेपालीको मात्र १ लाख ८ हजार संकलन भएकोमा चालू आर्थिक वर्षको पुसमसान्तसम्म १ लाख ६० हजार आम्दानी भइसकेको कुमरोज मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष हीरा गुरुङले बताए ।