वैशाख २ सम्म वर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम अनुमान

काठमाडौं चैत ३० । आज (शनिबार) काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीका अनुसार अहिले देशको विशेषतः काठमाडौंसहित मध्य र पश्चिमी भूभागको मौसम बदलिएको छ।

खासगरी पहाडी क्षेत्रको मौसम बदली भएको उनले बताए।

‘आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ,’ वरिष्ठ मौसमविद् सुवेदीले नेपालखबरसँग भने, ‘केही ठाउँमा अहिले वर्षा भइरहेको छ।’

काठमाडौंमा पनि डेढ/दुई घण्टा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘एकोहोरो वर्षा हुँदैन,’ उनले भने, ‘केही बेर पानी पर्ने फेरि खुल्ने हुन्छ।’

स्थानीय वायुको प्रभावले बदली भएको मौसम कहाँ कतिबेला बदली हुन्छ भन्न नसकिने वरिष्ठ मौसमविद् सुवेदीको भनाइ छ। ‘अहिले चट्याङ पर्न रोकिएको छ,’ उनले भने, ‘तर पनि प्रि-मनसुन भएकाले पर्ने सम्भावना भने हुन्छ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पूर्वी मध्य तथा पश्चिमी भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि देशभर मौसम बदली भई पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज चैत ३० देखि वैशाख २ गतेसम्म वर्षाको सम्भावना रहेको अनुमान महाशाखाले गरेको छ।

यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको तीन दिनसम्मको मौसम-

चैत ३० गते शनिबार 
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०१ गते आइतबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ। साथै पूर्वी र मध्य तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

रातिः देशको पूर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०२ गते सोमबार
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भागलगायत पश्चिमका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी तथा मध्य भू-भागका केही स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।