राम नवमीमा चितवनमा रथयात्रा

चितवन, ३० चैत । चैत दसैँ तथा रामनवमीको अवसर पारेर चितवनको भरतपुरमा राम, सीता र हनुमानसहितको रथयात्रा निकालिएको छ ।
भरतपुर –२, क्षेत्रपुरमा रहेको शेष लक्ष्मीनारायण मन्दिरबाट निकालिएको रथयात्राले बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । मन्दिरबाट हरेक वर्ष राम नवमीको दिनमा रथयात्रा निकाल्ने गरिएको छ । सो रथ यात्रामा स्थानीय आमा समूह, टोल सुधार समिति, ओम शान्तिलगायतका संघसंस्थाका प्रतिनिधिहरु तथा धर्मगुरु सहभागी थिए ।
राम नवमी एवम् चैते दसैँको अवसरमा नै चितवनको माडीमा रहेको सोमेश्वर भगवती, विक्रमबाबाको मेला भर्न टाढाटाढाबाट श्रद्धालुहरु आएका छन् । केही वर्ष अगाडिसम्म थारु समुदायले मात्रै विक्रम बाबाको पूजा गर्ने गरेका भएपनि पछिल्लो समय सबै जातजाति र भाषाभाषीका मान्छेहरुले पूजा गर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र सालको रुखमा विक्रम बाबाको पूजा गरिदै आएको छ ।