नयाँ वर्षमा कुमाल समुदायद्वारा प्रकृति पूजा

चितवन, ०१ चैत । प्रकृति पूजक जाति भनेर चिनिने कुमाल समुदायले आज नयाँ वर्षको अवसर पारेर चितवनमा प्रकृति पूजा एवम् विविध सांस्कृतिक कार्यक्रम गरेका छन् ।
कुमाल समुदायले हरेक वर्ष बैशाख १ गतेको दिनलाई प्रकृति पूजा गरेर मनाउने गर्दछन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ को जंगलमा कुमाल जातिहरुले सालका रुखहरुमा पूजा गर्दै प्रकृति पूजा गर्ने गरेका हुन् । ढुंगा तथा रुख बिरुवाको पूजा गर्दै आफन्तहरु भेटघाट गरेर कुमाल समुदायले प्रकृति पूजा गर्ने गर्दछन् । जिल्ला भरीका कुमाल जातिका प्रतिनिधिहरु भेला भएर लामो समयदेखि एकै ठाउँमा प्रकृतिको पूजा गर्दै आएका कुमाल जातिका पूजारी कर्णबहादुर कुमालले बताए ।
चितवनमा करिब १८ हजारको संख्यामा कुमाल जाति रहेको भएपनि जनगणनाले ११ हजार मात्रै देखाएको कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष कूलबहादुर कुमालले दुखेसो पोखे । प्रकृति पूजाको दिनमा सबै आफन्तहरु भेलाल भएर नाचगान गर्दै विभिन्न परिकारहरु खाएर सामुहिक रुपमा पर्व मनाउने कुमालको भनाइ छ ।