अर्थमन्त्री डा खतिवडा भन्छन् : ढुक्क भएर लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ

चितवन, ०२ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्योग व्यवसाय गर्न चाहने व्यक्तिका लागि सरकारले पूर्ण रुपमा औद्योगिक सुरक्षा प्रदान गर्ने बताएका छन् ।
चितवनको भरतपुरमा आज आयोजित पूर्व बजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सुरक्षाको सवालमा ढुक्क भएर उद्योगमा लगानी गर्न आग्रह गरेका छन् । खतिवडाले पछिल्लो समय उद्योग क्षेत्रमा बिध्वंसात्मक गतिविधि बढ्दै गएको प्रति दुख व्यक्त गर्दै आगामी दिनमा उद्योगको पूर्ण सुरक्षा हुने बताएका छन् । उद्योग सञ्चालन गर्न चाहने व्यवसायीका लागि सरकारले औद्योगिक सुरक्षा बलको मौका दिने उल्लेख गर्दै खतिवडाले त्यसमा अलिकति निजी क्षेत्रको लागत सहभागिता हुने बताए ।
प्रदेश नम्बर ३, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का उद्यमीबीच भएकोे छलफलका क्रममा व्यवसायीहरुले नेपाली उद्योग र उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपालमा नै उत्पादन हुने कृषिजन्य सामानहरु विदेशबाट आयात गर्दा सहुलीयत दिन नहुने व्यवसायीहरुको भनाइ थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतमा भएको कार्यक्रममा अर्थ सचिव लालशंकर घिमिरे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले मन्तव्य राखेका थिए ।