श्रीलंका आक्रमणः ७ आत्मघातीको संलग्नता रहेको खुलासा

एजेन्सी, ०९ बैशाख । कोलम्बो– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध बम आक्रमण ७ आत्मघातीले गराएको खुलासा भएको छ । श्रीलंका सरकारका फोरेन्सिक विशेषज्ञ आरियन्दना वेलियाङ्गाले समाचार संस्था एपीलाई जानकारी दिएअनुसार श्रीलंकाका होटल तथा गिर्जाघरमा गरी विभिन्न ६ स्थानमा गराइएको बम आक्रमणमा ७ जना आत्मघातीको संलग्नता छ । श्रीलंकाका विभिन्न ५ स्थानमा भएका बम विष्फोटनमा एक–एक आत्मघातीले आक्रमण गरेको तथा कोलम्बोको साङ्ग्रिला होटलमा भने २ आत्मघातीद्वारा आक्रमण भएको एपीले जनाएको छ । श्रीलंका प्रहरीका प्रवक्ता रुवान गुनसेकरालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २९० पुगिसकेको छ भने अरु ५ सय जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । आइतबार इस्टर सन्डे मनाउन भेला भएका इसाई धर्मावलम्बी तथा विदेशी पर्यटकलाई लक्षित गरी राजधानी कोलम्बोसहित श्रीलंकाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम आक्रमण भएको थियो । थप स्थानमा आक्रमण हुनसक्ने आशंकामा हाल श्रीलंकाभर उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ । यसबीच आइतबार बेलुकी ६ बजेबाट जारी गरिएको निशेधाज्ञा भने तत्कालका लागि हटाइएको र सोमबार बेलुकी ८ बजेबाट पुनः निशेधाज्ञा जारी गरिने श्रीलंकाली सुरक्षा अधिकारीले जनाएका छन् ।