कृषि मन्त्रालयले अन्तर्राष्ट्रिय प्रांगारिक विज्ञ सम्मेलन गर्ने

 

काठमाण्डौं, ०९ बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ। रासायनिक मल र विषादी निरुत्साहित गरी प्राङ्गारिक खेतीलार्इ प्रोत्साहन गर्न सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ। प्राङ्गारिक कृषि प्रवर्द्धन उच्चस्तरीय कार्यदलको सोमबार मन्त्रालयमा बसेको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । सम्मेलन आगामी वैशाख ३१ र जेठ १ गते काठमाडौमा हुने कार्यदलका सदस्य सचिव डा। गंगा आचार्यले जानकारी दिए। आचार्यका अनुसार भारत, भूटान, क्युवा, र स्पेनका प्राङगारिक विज्ञ आउने निधो भइसकेको छ। सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब १ सय ५० जना विज्ञको सहाभागिता रहनेछ। सम्मेलन व्यवस्थापनका लागि कृषि तथा पशुपन्छी विकास रज्यमन्त्री रामकुमारी चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नेछन्। प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्न भन्दै गत पुस २९ गते कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालको संयोजक त्वमा १५ सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले अहिलेसम्म सातै प्रदेश र उपत्यकामा गरी १० वटा अन्तक्र्रिया गरेर सुझाव संकलन गरेको कार्यदलका सदस्य कृष्णप्रसाद पौडेलले जानकारी दिए।